४ असोज, काठमाडाैँ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि सुदूरपश्चिम प्रदेशबाट टेबल टेनिसमा महिलातर्फ कञ्चनपुरका चार जना छनोटमा परेका छन् । महिलातर्फ पाँच जना छनोट हुने खेलमा चार जना कञ्चनपुरबाट छनोटमा परेका हुन् । छनोटमा परेका कञ्चनपुरका देबकी भट्ट, एन्जला कार्की, ईन्दु ज्ञवाली र योगिता साउद छन् । उनिहरू चारै जनाले युटुबमा हेर्दै अभ्यास गर्दै राष्ट्रिय प्रतियोगिताको छनोटमा परेका हुन् ।
कञ्चनपुरमा टेबल टेनिसका लागि कोच नहुँदा युटुब हेर्दै सिक्दै गरेको उनले बताइन् । छनोटमा परेकामध्ये देबकी भट्ट र ईन्दु ज्ञवालीले यसअघि पनि राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिस्प्रर्धा गरिसकेका छन् । ‘अभ्यास गर्नका लागि ठाउँ छैन प्रशिक्षणका लागि प्रशिक्षक पनि हुनुहुन्न । छनोटमा परेका देवकी युटुब हेरेर आफैले अभ्यास गरेर यहाँसम्म पुगेकी छु ।’ भट्टले भनिन् ।
उनले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लगातार राष्ट्रिय प्रतियोगितामा प्रतिस्प्रर्धा गरेकी छिन् । तर अहिलेसम्म भने पदक हात पार्न सकिनन् । यस पटकको प्रतियोगितामा भने गोल्ड मेडल ल्याउने दाउमा रहेको उनले बताइन् ।
जिल्ला खेलकूद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले प्रशिक्षक बिनानै छनोटमा पर्न खुसीको कुरा भएको बताए । ‘भौतिक संरचना र प्रशिक्षणको अभावकाबीच पनि खेलप्रतिको लगाबले कञ्चनपुरका चारजना राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनु हाम्रो लागि खुसीको कुरा हो ।’ उनले भने । ‘खेलाडीको खेलप्रतिको लगाबले यो सफलता मिलेको हो ।’ उनले नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि कञ्चनपुरमा आठ वटा खेलको छनोट भइरहेको बताए।
‘टेबल टेनिसको महिलातर्फ छनोट भइसकेको छ पाँच जना कञ्चनपुरका एक जना बझाङका छन ।’ उनले भने, ‘भलिबल, तेकवान्डोको नतिजा साझसम्म आउछ ।’ उनका अनुसार कञ्चनपुरमा भलिबल, कर्बडी, टेबुलटेनिस, तेकवान्डो, कराँते, फुलकन्ट्याक्ट कराँते, कुस्ती र आइटिस तेकवान्डो खेलको छनोटका खेल भइरहेका छन् ।
प्रतियोगिताको छनोटमा नौ सय ७८ खेलाडी प्रतिस्प्रर्धा गरिरहेका छन् । कञ्चनपुरबाट मात्रै ३१ वटा खेलका लागि चार सय २१ खेलाडी छनोट प्रतियोगिताको प्रतिस्प्रर्धामा छन ।