९ असोज, एजेन्सी। नासाको अहिलेसम्मको सबैभन्दा शक्तिशाली रकेटको प्रक्षेपण आँधीका कारण ढिलो भएको छ।
आर्टेमिस–१ मुन रकेट मंगलबार फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण हुने अपेक्षा गरिएको थियो। तर, आँधीका कारण प्रक्षेपणमा ढिलो हुने भएको बिबिसीमा उल्लेख गरिएको छ।
यो रकेटको प्रक्षेपण पहिले नै दुई पटक स्थगित भइसकेको छ। इन्जिनमा समस्या देखिएपछि रकेट प्रक्षेपण स्थगित गरिएको थियो। प्राविधिक त्रुटिका कारण अगस्टको अन्त्यमा यसको पहिलो प्रक्षेपण असफल भएको थियो भने सेप्टेम्बरको सुरुमा दोस्रो प्रयास इन्धन चुहावटका कारण अवरुद्ध भएको थियो।
अन्तरिक्ष प्रक्षेपण प्रणाली (SLS) वाहन ५० वर्षपछि अन्तरिक्ष यात्रीहरू र तिनीहरूको उपकरणहरू चन्द्रमामा पठाउन डिजाइन गरिएको हो।
रकेटलाई यसको एसेम्बल साइटमा फिर्ता गर्ने कि नगर्ने भन्ने निर्णय आइतवार आर्टेमिस–१ टोलीले लिने जानकारी दिइएको छ।
फ्लोरिडा कीज र दक्षिण फ्लोरिडा सोमबार भारी वर्षाले प्रभावित हुनसक्ने माैसमविद्हरूले अनुमान गरेका छन्।