११ असोज, एजेन्सी। इन्टरपोलले विश्वभरका कानून प्रवर्तन एजेन्सीहरूलाई क्रिप्टोकरेन्सी टेराका संस्थापक डो क्वोनलाई पक्राउ गर्न आग्रह गरेको छ।
बीबीसी कोरियाका अनुसार ३० वर्षीय क्वोनलाई पक्राउ गर्न रेड नोटिस जारी गरिएको छ। उनले क्रिप्टोकरेन्सी टेराका माध्यमबाट ४० अर्ब डलर ठगी गरेको अभियोग लगाइएको छ।
यस महिनाको सुरुमा उनको जन्मस्थान दक्षिण कोरियामा पक्राउ पुर्जी जारी गरिएको थियो।
टेरा क्य्रास हुनुभन्दा अघि नै क्वोन सिंगापुर भागेको बताइएक छ। तर, त्यहाँका अधिकारीहरूले अहिले क्वोन सिंगापुरमा नरहेको दाबी गरिरहेका छन्।
दक्षिण कोरियाली अभियोजकहरूले इन्टरपोललाई उनलाई रेड नोटिस सूचीमा राख्न आग्रह गरेका थिए। अब उक्त आग्रहको कार्यान्वयन हुने भएको छ। सियोलमा परराष्ट्र मन्त्रालयलाई उनी भागेको भन्दै उनको पासपोर्ट खारेज गर्न समेत आग्रह गरिएको थियो।
उनले आफू लुकेको कुरा अस्वीकार गरेका छन्। तर, पनि आफ्नो ठेगाना भने खुलाएका छैनन् ।
टेरा-लुनाको क्र्यासमा संलग्न भएको अभियोगमा अन्य पाँच जना विरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर, उनीहरूको नाम भने गोप्य राखिएको छ।
टेरा लुनाको सिस्टम ध्वस्त नै भएको थियो। जसका कारण समग्र क्रिप्टो बजार नै प्रभावित भएको थियो।



