२२ असोज, काठमाडाैँ। करिब १० लाख फेसबुक प्रयोगकर्ताहरूको युजरनेम र पासवर्ड चोरी भएको छ। मेटाले अब करीब ती १० लाख मानिसहरूलाई उनीहरूको युजरनेम र पासवर्ड चोरी भएकोबारे जानकारी दिने तयारी गरेको छ।
एप्पल स्टोर र अल्फाबेटका सफ्टवेयर स्टोरबाट डाउनलोड भएका एपहरूमा समस्या देखिँदा उनीहरूको महत्वपूर्ण जानकारी चोरी भएको अनुमान गरिएको छ।
मेटाले शुक्रबार ४०० भन्दा बढी एन्ड्रोइड र आइओएसका एपहरूले लगइन गर्न लगाउने बहानामा महत्वपूर्ण जानकारी चोरी गरेको पाइएको पुष्टि गरेको छ। मेटाले एप्स हटाउन सहज बनाउन एप्पल र गुगल दुबैलाई यस मुद्दाको बारेमा जानकारी गराएको बताएको छ।
डेटा चोरी गर्ने एपहरू फोटो इडिटर, मोबाइल गेम र हेल्थ ट्र्याकरको रूपमा स्टोरहरूमा रहेको पाइएको छ।
एप स्टोरमा भएका ४०० समस्याग्रस्त एपमध्ये ४५ वटा हटाइसकिएको एप्पलले जानकारी दिएको छ। त्यस्तै, गुगलका प्रवक्ताले पनि समस्या देखिएका एपहरू हटाइएको जानकारी दिएका छन्।
मेटाले यस्ता एपहरूमार्फत पिडीत भएका प्रयोगकर्ताहरूसँग कसरी बच्ने भन्नेबारे टिप्स सेयर गर्ने जानकारी पनि दिएको छ।