२५ असोज, काठमाडाैँ । नेपालको हवाई उड्डयन सुरक्षाप्रति युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली सकारात्मक देखिएको छ । नेपालको हवाई उडड्यन क्षेत्रबारे अडिट गर्न आएको इयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) ले तीन दिनको अडिटपश्चात नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक प्रतिक्रिया दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।
इयासाको तीन सदस्यीय प्राविधिक टोलीले यही असोज २१ देखि असोज २३ गतेसम्म नेपालको हवाई क्षेत्रको अडिट गरेको थियो । इयासाले कात्तिक दोस्रो साता नेपाललाई प्रतिवेदन दिने र यस प्रतिवेदनले औँल्याएका विषयमा प्राधिकरणले जवाफ दिएपछि अन्तिम प्रतिवेदन इयुमा बुझाइने र सुरक्षा सूचीबाट हटाउने निर्णयको टुङ्गो लाग्ने बताइएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले टोली नेपाली हवाई क्षेत्रको अवस्थाबारे सकारात्मक रहेकाले नेपाल इयुको कालोसूचीबाट चाँडै हट्ने विश्वास व्यक्त गर्नुभएको छ । प्राविधिक टोलीले अहिलेसम्म गरेको प्राविधिक अध्ययन र प्राधिकरणसँग गरेको छलफलमा टोली सन्तुष्ट रहेको प्रवक्ता निरौलाको दाबी छ ।
नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको अडिट प्रतिवेदनमा हवाई सुरक्षादर अन्तर्राष्ट्रिय औसतभन्दामाथि ७० दशमलव एक प्रतिशत प्राप्त गरेको छ । साथै, हवाई दुर्घटना नियमावली समेत मन्त्रिपरिषद्बाट पास भइसकेकाले नेपाल कालोसूचीबाट हट्ने संभावना बढको हो । नेपाल विगत १० बर्षदेखि इयुको कालोसूचीमा रहेको छ ।