२५ असोज, काठमाडाैँ। क्यूएफएक्स सिनेमा हलमा चर्चित मोबाइल गेम पब्जि प्रतियोगिता हेर्न पाइने भएको छ। काठमाडाैँको छायाँ सेन्टरमा चार दिन प्रतियोगिता हेर्न पाइने भएको हो।
पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) फल च्याम्पियनशिप अन्तर्गतका खेलहरू छायाँ सेन्टरमा देखाइने भएको हो। अक्टोबर १३ देखि १६ तारिखसम्म यो प्रतियोगिता सञ्चालन हुनेछ।
यो प्रतियोगिता हेर्न जान चाहने १०० भन्दा धेरै दर्शकलाई निःशुल्क टिकट पनि उपलब्ध गराइने पब्जीले फेसबुक पेजमार्फत जानकारी दिएको छ। त्यसका लागि यहाँ क्लिक गरेर फाराम भर्नु पर्नेछ।
नेपालसहित मङ्गोलिया र पाकिस्तानका गरी कुल १६ टिम यो प्रतियोगितामा सहभागी छन्। नेपालका ट्रेन टु किल, डीआरएस, स्काइलाइट गेमिङ, हाई भोल्टेज, इलिमेन्ट्रिक्स र भेनम लेजेन्ड यस प्रतियोगितामा सहभागी छन्।
पीएमपीएल फल साउथ एसियामा शीर्ष १० भित्र पर्न सफल रहेका टिम र पीएमपीएल फल पाकिस्तानमा शीर्ष ६ भित्र स्थान बनाउन सफल टिमले यो प्रतियोगितामा भाग लिन पाउनेछन्।
यस प्रतियोगिताको तालिकामा शीर्ष तीनमा पर्ने टोलीले पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२२ मा स्थान सुरक्षित गर्नेछन्।