२६ असोज, काठमाडाैँ। ड्रोन उडाउनका लागि सरकारबाट अनुमति लिनुपर्ने भएको छ। गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै हरेक प्रकारका ड्रोन उडाउन अनुमति लिनुपर्ने अन्यथा कारबाही गरिने चेतावनी दिएको छ।
अत्यावश्यक कामका लागि दुई केजीभन्दा कम तौलका ड्रोन उडाउनका लागि प्रयोगकर्ताले जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिन पाइने र सो भन्दा बढी ताैलका ड्रोन उडाउन गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने उल्लेख गरिएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मानवरहित हवाई उपकरण (Remotely Piloted Aircraft (RPA) Known as ‘Drone’) उडान कार्यविधि २०७५” मा ड्रोन उडाउन विभिन्न निकायबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । यदि उल्लेखित कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानून बमोजिम कारबाही हुने भएको हुँदा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।’
पछिल्लो समय विभिन्न व्यक्ति तथा निकायले विभिन्न प्रयोजनका लागि ड्रोन उडाउने गरेका छन्। यसरी ड्रोन उडाउँदा अनुमति नलिनेको संख्या बढ्दै गएपछि सरकारले विज्ञप्ती जारी गरेर अनुमति नलिनेमाथि कारबाही गरिने चेतावनी दिएको हो।