२७ असोज, एजेन्सी। रूसी अधिकारीहरूले मेटालाई आतंकवादी र चरमपन्थी संगठनहरूको सूचीमा राखेका छन्। देशको इन्टरफ्याक्स एजेन्सीले रिपोर्ट गरे अनुसार आतंकवादी र चरमपन्थी संगठनहरूको सुचीमा मेटा परेको हो।
मेटाको स्वामित्वमा चर्चित सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम रहेका छन्। यी दुई प्लेटफर्महरू “रुसोफोबिया” को कारण मार्चमा रूसमा प्रतिबन्धित थिए।
केही समयअघि मेटाले यसका सामाजिक सञ्जालमा ‘रूसी आक्रमणकारीहरूलाई मृत्यु’ जस्ता संवेदनशील पोस्ट गर्न अनुमति दिने बताएको थियो। त्यसकै परिणामस्वरूप रूसी अधिकारीहरूले मेटालाई आतंकवादी र चरमपन्थी संगठनहरूको सूचीमा राखेको बताइएको छ।
मेटाले प्रतिबन्धको विरुद्धमा अपील गरेको थियो तर मस्कोको अदालतले रूसी अधिकारीहरूको कदमलाई समर्थन गर्दै मेटाको अपील खारेज गरेको छ।
मेटाकै स्वामित्वमा रहेको ह्वाट्सएपमाथि भने रूसी अधिकारीहरूले यो कारबाही गरेका छैनन्।
अमेरिकी प्रविधि कम्पनी मेटाले रुस विरोधी भावनालाई बढावा दिएको आरोप अस्वीकार गरेको छ। रूसमा फेसबुक त्यति लोकप्रीय नभएता पनि इन्स्टाग्रामका प्रयोगकर्ता भने धेरै छन्।
प्रतिबन्ध लगाइता पनि भिपिएनको प्रयोग गरेर फेसबुक र इन्स्टाग्राम चलाउन सकिन्छ। तर, रूसमा भिपिएनको प्रयोग गरेर फेसबुक र इन्स्टाग्राम चलाउनुलाई आपराधिक क्रियाकलाप मानिएको छ।