३० असोज, एजेन्सी। भारतमा फेसबुक लाइभ गर्दै तीव्र गतिमा कार गुडाउँदा भयानक दुर्घटना भएको छ। उक्त दुर्घनामा परी कारमा सवार चारै जनाको मृत्यु भएको प्रहरीले बताएको छ।
भारतीय प्रहरीका अनुसार यो घटना भारतको उत्तर प्रदेशको सुल्तानपुर नजिकको हो। शुक्रबार फेसबुक लाइभमा २३० किलोमिटर प्रतिघण्टाको गतीमा कार गुडाएको देखाउँदै बिएमडब्लु कार हुँइकिएको थियो।
लाइभ गर्ने व्यक्तिले कारको स्पिड देखाउन स्पिडोमिटरमा क्यामेरा फोकस गरिरहेका थिए। सोही समयमा एक जना डराउँदै स्पिड बढी भएको र सबै जना मर्न सक्ने चेतावनि दिन्छन्। त्यसको केही समयमा नै कार कन्टेनरसँग ठोक्किँदा चारै जनाको मृत्यु हुन्छ।
तीव्र गतिमा गुडिरहेको कार दुर्घटना हुँदा एक युवकको टाउको र हात दुर्घटनास्थलबाट २०–३० मिटर टाढा फेला परेको प्रहरीले जानकारी दिएको छ। कारको इन्जिन पनि उछिट्टिएर धेरै टाढा पुगेको बताइएको छ।
बिहारका डा. आनन्द कुमार, उनका काकाका ज्वाइँ इन्जिनियर दीपक आनन्द,साथी अखिलेश सिंह र भोला कुशवाहा कारमा सवार थिए। भोलाले भारतमा सवा करोड भारु पर्ने बीएमडब्लु चलाएका थिए।
उनीहरूले पहिले ६०-७० को बिचमा नै कार गुडाएका थिए। तर, स्पीड चेक गर्न उनीहरूले स्पीड बढाउँदै लगेका थिए। तर, दुर्भाग्यवस सोही दुर्घटनामा उनीहरूको मृत्यु हुन पुग्यो।
सडकमा वर्षाका कारण बनेको एक खाल्डोमा कार पसेपछि दुर्घटना भएको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।