३१ असोज, काठमाडाैँ। मंगोलियन पब्जी टोली गोल्डलाइक स्टलवर्ट पब्जी मोबाइल प्रो लिग साउथ एसिया (पिएमपिएल) च्याम्पियन भएको छ। प्रतियोगिताको फाइनलको अन्तिम दिन उत्कृष्ट कमब्याग गर्दै गोल्डलाइक स्टलवर्ट पिएमपिएल साउथ एसिया च्याम्पियन भएको हो।
प्रतियोगिताको फाइनल खेलहरूमा भएका २४ खेलबाट गोल्डलाइक स्टलवर्टले २६४ अंक जोड्न सफल भयो। यसका लागि गोल्डलाइक स्टलवर्टले चार वटा चिकन डिनर ल्याएको थियो। गोल्डलाइक स्टलवर्टले किलबाट १२० र प्लेस पोइन्टबाट १४४ अंक ल्याउन सफल भयो।
त्यस्तै, प्रतियोगिताको उपविजेता भने नेपालको डिआरएस गेमिङ भयो। फाइनल खेलका अन्तिम दिनसम्म पनि शीर्ष स्थानमा बस्न सफल भएको डिआरएस आफ्नो लय कायम राख्न नसक्दा उपविजेतामा सिमित भयो। दोश्रो स्थानमा रहेको डिआरएसले २४ खेलमा तीन वटा चिकन डिनरसहित २५६ अंक जोड्न सफल भयो।
त्यस्तै, प्रतियोगितामा मध्यम प्रदर्शन गरेको स्काइलाइट्ज गेमिङ तेश्रो स्थानमा रहन सफल भयो। २४ खेलमा तीन वटा चिकन डिनरसहित स्काइलाइट्ज गेमिङले २३१ अंकमात्रै जोड्न सफल भयो।
प्रतियोगिताको विजेता बनेको मंगोलियन पब्जी टोली गोल्डलाइक स्टलवर्टले पुरस्कार स्वरूप ४० हजार डलर घर लैजान सफल भयो। त्यस्तै, दोश्रो भएको डिआरएसले २८ हजार डलर र तेश्रो भएको स्काइलाइट्ज गेमिङले १८ हजार डलर पुरस्कार राशी प्राप्त गर्न सफल भयो।
प्रतियोगितामा सहभागी अन्य नेपाली टिमहरूमा टिटुके पाँचाै, हाइ भोल्टेज साताै, एलिमेन्ट्रिक्स बाह्राैँ र भेनम लिजेन्ड पन्ध्राैँ स्थानमा रहन सफल भए।
नेपाली रिजनबाट डिआरएस गेमिङ, स्काइलाइट्ज गेमिङ र टिटुकेले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा स्थान बनाएका छन्। पिएमजिसी २०२३ को जनवरी २१ तारिखबाट सुरू हुँदैछ।