३१ असोज, एजेन्सी। एप्पलले आइफोन १४ मा ल्याएको फिचर सामसुङले पनि नयाँ फोनमा ल्याउने तयारी गरेको बताइएको छ। आइफोन १४मा ल्याइएको स्याटेलाइट कनेक्टिभिटी फिचर ल्याउनेमा सामसुङले विचार गरिरहेको रिपोर्ट बाहिर आएको छ।
अहिलेसम्म एप्पल र हुवावेले मात्रै स्याटेलाइट कनेक्टिभिटी फिचर भएका मोबाइल फोन सार्वजनिक गरेका छन्। तर, अब भने यो दाैडमा तेश्रो हुन सामसुङ तयार भएको बताइएको छ।
ट्विटरमा टेक रिपोर्टर रिकिलोले सामसुङ पनि स्याटेलाइट कनेक्टिभिटी फिचर ल्याउने तयारीमा भएको दाबी गरेका छन्।
सामसुङ जस्तो अग्रणी कम्पनीको लागि यो धेरै गाह्रो नभएको बताइएको छ। चीनको कम्पनी हुवावेले मेट ५० र मेट ५० प्रोमा यो फिचर एप्पल भन्दा अगाडी नै ल्याइसकेको थियो। तर, ती २ मोडल भने चीनमा मात्रै उपलब्ध छन्।
अब २०२३ मा सार्वजनिक हुने सामसुङका उच्च तहका ग्यालेक्सी फोनमा स्याटेलाइट कनेक्टिभिटी फिचर देख्न सकिने ठूलो संभावना रहेको छ। तर, सामसुङ एस२३ मा नै यो फिचर उपलब्ध हुनेमा भने शंका देखिएको छ। यद्यपी, २०२३ मै लन्च हुने क्यु १ मा भने यो फिचर देख्न सकिनेछ।
एप्पलले यो सुविधाले प्रयोगकर्ताको स्मार्टफोन स्याटेलाइटहरूसँग जोडिएर मोबाइल नेटवर्क नभएको क्षेत्रमा पनि आपतकालीन कल गर्न सक्ने देखाइसकेको छ।
एप्पलले ग्लोबलस्टार स्याटेलाइट कम्पनीसँग मिलेर आइफोन १४मा स्याटेलाइट कनेक्टिभिटी फिचर ल्याएको हो। तर, सामसुङले कुन स्याटेलाइट कम्पनीसँग मिलेर यो फिचर ल्याउने भन्ने विवरण सार्वजनिक भइसकेको छैन।
त्यस्तै, सामसुङले अबका स्मार्टफोनहरू बटमलेस बनाउने चर्चा पनि चलिरहेको छ।