३१ असोज, एजेन्सी। रुसले सोमबार बिहान किभमा ‘ कामिकाजे ड्रोन’ मानवरहित विमान आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपतिले यस आक्रमणलाई झण्डै आठ महिनादेखि हजारौंको ज्यान लिने युद्धमा निराशाको कार्यको रूपमा वर्णन गरेको छ ।
किभमा सोमबार बिहान ६ः३५ बजे पहिलो विस्फोट हुनुभन्दा केही समयअघि हवाई आक्रमणको साइरन बजेको र त्यसपछि देशका अधिकांश भागमा साइरन बजेको बताइएको छ । ‘राजधानीमा कामिकाजे ड्रोनद्वारा हमला गरिएको छ,’ राष्ट्रपतिका चीफ अफ स्टाफ एन्ड्री यर्माकले सामाजिक सञ्जालमा भनेका छन् ।
‘हामीलाई थप वायु रक्षा प्रणाली र सकेसम्म चाँडो चाहिन्छ । आकाशको रक्षा गर्न र शत्रुलाई नष्ट गर्न थप हतियारहरु चाहिएको’ उनले बताएका छन् । रसियाले युक्रेनको राजधानी र देशका विभिन्न सहरहरुमा क्षेप्यास्त्र आक्रमणको ठूलो लहर जारी गरेको एक हप्तापछि आक्रमणहरू भएका जनाइएको छ ।
किभका मेयर भिटाली क्लिट्स्कोले ड्रोन आक्रमणले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लाका धेरै भवनमा आगो लागेको र त्यहाँका बासिन्दाहरूलाई शरण लिन चेतावनी दिएको बताए ।