१ कार्तिक, काठमाडाैँ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न निर्वाचन आयोगले चर्चित सामाजिक सञ्जालहरूसँग सहकार्य गर्नेबारे छलफल गरेको छ।
अहिलेसम्म फेसबुकमा यसबारे सहकार्य गर्ने लभगभ निश्चित भएको जानकारी दिइएको छ।
आइतबार फेसबुकको दक्षिण एसिया हेर्ने व्यूरोको अधिकारीहरुसँग आयोगले छलफल गरेको थियो। फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको अवस्थामा आइतबार आयोगले गलत सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्नेबारे छलफल गरेको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले फेसबुकसँग निष्पक्ष र सन्तुलित रुपमा निर्वाचन गर्न सामाजिक सञ्जालमा हुनसक्ने बाधा व्यवधान र तिनलाई हटाउने उपायबारे छलफल भएको बताएका छन्। उनले यस विषयमा फेसबुक सकारात्मक देखिएको पनि बताएका छन्।
यसअघि आयोगले यसै विषयमा टिकटक र ट्वीटरसँग पनि छलफल गरेको जानकारी दिएको छ।