१ कार्तिक, काठमाडाैँ। नेपालमा नयाँ ल्यापटप भन्दै पुराना ल्यापटपहरू बेच्ने गरेको पाइएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कतार र दुवईबाट आयात गरिएका ल्यापटप परीक्षण गर्दा यो रहस्य बाहिरिएको हो।
काठमाडौंका तीन र ललितपुरका एक फर्मले करीब १ हजार वटा ल्यापटप आयात गरेका थिए। ती मध्ये ५ सय वटा पुराना र वारेन्टी सकिएपछि नयाँ भनेर आयात गरेको खुलासा भएको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेका सबै ल्यापटप डेल कम्पनीका भएको खुलेको छ। यसबारे गम्भीर अनुसन्धान गरिने भन्सार कार्यालयले जानकारी दिएको छ।
विमानस्थलमा यस्तो अवस्थामा ल्यापटप भेटिएपछि बजारमा बिक्री भएका ल्यापटपको गुणस्तरमा प्रश्न चिन्ह खडा भएको छ। अब नेपाल ल्याइएका ल्यापटपको भन्सारमा नै कडा जाँच हुने पनि जानकारी दिइएको छ।
चालु आर्थिक वर्षको २ महिनामा नेपालमा १९ हजार ५०८ थान ल्यापटप आयात भएको तथ्याङ्क छ।