१ कार्तिक, कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका १६ वर्षीय सोहन कैनीले विद्युतीय मोटरसाइकल निर्माण गरेका छन् ।
धनगढीको ऐश्वर्य विद्या निकेतनस्थित ११ कक्षामा अध्ययनरत उनले दुई महिना समय लगाएर विद्युतीय मोटरसाइकल निर्माण गरेका हुन् । डेढ लाख रुपियाँ लागतमा आफूले इलेक्ट्रिक मोटरसाइकल निर्माण गरेको कैनीले बताए ।
‘‘यस्ता नयाँ–नयाँ प्रविधिको आविष्कार गर्ने चाहना भएकाले मैले इलेक्ट्रिक मोटरसाइकल बनाएको हुँ’, उनले भने, ‘‘मोटरसाइकलमा पावर ब्याङ्कको सहयोगबाट फिङ्गर प्रिन्ट पनि राखिएको छ ।’’
उनले बनाएको मोटरसाइकल चलाउनका लागि फिङ्गर प्रिन्ट र चाबी दुवै आवश्यक पर्ने छ । मोटरसाइकलमा १२ भोल्टेजका चार वटा ब्याट्री राखिएका छन् । ब्याट्री पूर्ण चार्ज भएमा ६० देखि ७० किलोमिटरसम्म मोटरसाइकल चल्ने कैनीले जनाए । युट्युबमा भिडियो हेरेर आफू इलेक्ट्रिक मोटरसाइकल बनाउनका लागि प्रेरित भएको उनको भनाइ छ ।
कैनीले बनाएको इलेक्ट्रिक मोटरसाइकल सोमबार धनगढी उपमहानगरपालिकाको कार्यालयमा प्रदर्शन गरिएको छ । नगर प्रमुख गोपाल हमालले विद्युतीय मोटरसाइकल बनाएकोप्रति खुसी व्यक्त गर्दै कैनीलाई बधाई ज्ञापन गरे ।