१ कार्तिक, काठमाडाैँ। अमेरिकामा नेपाली उबर चालकमाथि आक्रमण गरी लुटपाट भएको छ।
अमेरिकाको उत्तरी क्यालिफोर्नियाको अकल्याण्डमा नेपाली उबर चालक विमल मगरमाथि बन्दुकधारीले आक्रमण गर्दै लुटपाट गरेको अमेरिकी सञ्चारमाध्यम एबिसी नेटवर्क उल्लेख गरेको छ।
यो घटना अक्टोबर १ तारिखमा भएको एबिसीमा उल्लेख छ। तर, प्रहरीले भने सोमबार मात्रै यस घटनाबारे खुलासा गरेको हो।
मगरले अक्टोबर १ को साँझ करीब ८ बजेतिर डेढ माइल यात्राका लागि आएको रिक्वेस्ट स्विकार गरेका थिए। तर, कारमा चढेका यात्रुहरू गन्तव्यमा पुग्दा पनि नओर्लिएपछि उनीहरूबिच भनाभन भएको थियो। उनीहरूले सोही क्रममा विमलकोबारेमा सोधपुछ गरेका थिए।
सोही क्रममा उनी नेपाली भएको थाहा पाएपछि ती यात्रुले मगरको टाउकोमा गोली ताक्दै घुँडा टेक्न लगाएका थिए।
‘एक जनाले मेरो टाउकोमा बन्दुक राखे। अर्कोले मेरो सामान वालेट, चाबी र सबै कुरा लिए। तिनीहरूले मलाई भुइँमा सुत्न भने। म भुइँमा पल्टिएको थिएँ। त्यसपछि उनीहरूले मेरो कारको चाबी लिए भागे।’ मगरले एबिसी नेटवर्कसँग भनेका छन्।
संदिग्धहरूले आफू कहाँको हो भनेर सोधेपछि विमलले आफ्नो जातका कारण आफूलाई निशाना बनाएको आरोप लगाएका छन्।
उबरले यस घटनाको लागि कुनै क्षतिपूर्ति नदिए पनि प्रतिस्थापन गाडीको लागि कम्पनीको बीमा प्रयोग गर्न सक्षम भएको उनको दाबी छ।