१ कार्तिक, काठमाडाैँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्। काठमाडौं निर्वाचन क्षेत्र नं.१ मा नेपाली कांग्रेसका उम्मेदवार सिंहले सोमबार प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन्।
उनको प्रतिवद्धतापत्र निशुल्क वाइफाई जोनदेखि फ्लाईओभर र अण्डरपासम्म निर्माण गर्ने उल्लेख गरिएको छ।
प्रतिबद्धता पत्रमा लेखिएको छ, ‘निर्वाचन क्षेत्रबासीलाई डिजिटल प्रविधिसँग जोडिन निशुल्क तालिम र सूचना प्रविधिको पहुँच बढाउन निशुल्क वाइफाई जोनको व्यवस्था गर्ने। उच्च सवारी चाप हुने क्षेत्रमा अनिवार्य ओभरहेड पुल निर्माण, मुख्य सडकमा सम्भाव्यता अध्ययन गरी फ्लाइओभर वा अन्डरपास बनाउने।’
प्रतिबद्धतापत्रमा उनले स्वच्छ पिउने पानी उपलब्ध गराउन हरसम्भव प्रयत्न गर्ने, मेलम्चीको पुरक स्रोत खोजी गर्ने, २१औं शताब्दी युग सुहाउँदो सुरक्षित मार्ग, सीसीटीभी क्यामेरा जडित टोल, सडक निर्माण गर्ने, बागमती, रुद्रमती र इच्छुमती स्वच्छ र सफा राख्ने, बागमती करिडोरमा हरियाली पार्क निर्माण गर्ने लगायतका वाचा पनि गरेका छन्।