२ कार्तिक, एजेन्सी। टिकटकमा लाइभ बस्नका लागि न्युनतम उमेरहद बढाइने भएको छ। सर्ट भिडियो शेयरिङ प्लेटफर्म टिकटकले लाइभमा बस्ने न्युनतम उमेर बढाउने भएको हो।
अहिले टिकटकमा लाइभ होस्ट गर्ने प्रयोगकर्ता १६ वर्षको हुनुपर्नेछ। तर, अब नोभेम्बर २२ देखि भने टिकटक लाइभमा बस्न १८ वर्ष पुगेको हुनेपर्ने भएको छ।
‘आगामी हप्ताहरूमा हामी सिर्जनाकर्ताहरूलाई उनीहरूको लाइभमा वयस्क दर्शकहरू मात्र पुग्न रुचाउने हो कि भनेर छनौट गर्ने नयाँ तरिका प्रस्तुत गर्ने योजनामा छाैँ।’ टिकटकले ब्लगपोस्टमा भनेको छ।
टिकटकले दर्शकहरूको ध्यान खिच्नका लागि उत्तेजक, सम्भावित जोखिमपूर्ण सामग्री पोस्ट गर्न युवाहरूलाई उत्प्रेरित गर्ने गरेको भन्दै आलोचना हुँदै आएको थियो। टिकटकको नयाँ घोषणाले केही भएता पनि आलोचना कम हुने अनुमान गरिएको छ।
पछिल्लो समय टिकटकमा लाइभ बस्नेहरूको संख्या दिनप्रति दिन बढिरहेका छन्। चर्चित सेलिब्रेटी, सामान्य मानिसहरू र विशेषज्ञहरू समेत टिकटक लाइभमा भेटिन्छन्।
टिकटक लाइभ बसेर पैसा समेत कमाउन सकिने भएका कारण टिकटक लाइभ बस्नेहरूको संख्या बढिरहेको अनुमान गर्न सकिन्छ।