३ कार्तिक, एजेन्सी। पहिलो जनेरेशनको आइफोन महँगो रकममा बिक्री भएको छ। लिलामीमा पहिलो जनेरेशनको आइफोन ६० हजार अष्ट्रेलियन डलरमा बिक्री भएको हो।
यो मूल्य उक्त फोनको नयाँमा पर्नेभन्दा करीब ५० गुँणा बढी हो।
अष्ट्रेलियामा बस्ने एक बिडरले सबैभन्दा पुरानोमध्ये एक आइफोनका ६२ हजार ९०९ अष्ट्रेलियन डलर तिरेका हुन्। उक्त आइफोन २००७ मा लन्च भएको थियो।
८ जिबीको मेमोरी क्षमता भएको उक्त आइफोन अझै सिलप्याक नै रहेको लुइसियाना-आधारित लिलामी कम्पनीले जानकारी दिएको छ।
स्टिभ जब्सले सन् २००७ जनवरी ९ मा विश्वमै पहिलो आइफोन सार्वजनिक गरेका थिए। उक्त समयमा सो फोनको मूल्य ४९९ डलरदेखि ५९९ डलरसम्म खुद्रा मूल्य तोकिएको थियो।
यो डिभाइस चाँडै एप्पलको सबैभन्दा सफल उत्पादन भयो र स्मार्टफोन उद्योगमा क्रान्ति ल्यायो।
सुरूमा सार्वजनिक भएको आइफोन ४ जिबी र ८ जिबी मेमोरी क्षमताका थिए। २ मेगापिक्सल क्यामेराका साथ ३.५ इन्चको डिस्प्ले भएको आइफोनले विश्वको फोन बजारमा नयाँ स्वरूप बाहिर ल्याएको थियो।
अहिले आइफोनको १४ सिरिज सार्वजनिक भइसकेको छ। मेमोरी क्षमता बढेर ५१२ जिबीसम्म पुग्दा क्यामेरा १२ मेगापिक्सलको छ भने डिस्प्ले ६.१० इन्चको बनेको छ।