५ कार्तिक, काठमाडौं । पछिल्लो समय वनश्रोतमा आधारित वायो इनर्जीको उत्पादन र प्रयोग बढेको देखिएको छ । राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नाफान)ले ग्लोवल फरेष्ट कोयलिसन र इन्भ्यारोमेन्टल पेपर नेटवर्कको सहकार्यमा गरेको अध्ययनले सो कुरा देखाएको हो ।
वायो इनर्जी सप्लाई रिपोर्ट (२०२०)का अनुसार वायो इनर्जीको प्रयोग सन् २००० को तुलनामा सन् २०२० मा ३ गुणाले वृद्धि भएको छ । प्रतिवेदनअनुसार वायोमासलाई इन्धनको रूपमा परिणत गर्दा जलवायुमा नकारात्मक योगदान पुग्छ । अध्ययनअनुसार नेपालको ग्रामीण क्षेत्रमा अझै पनि ७७ प्रतिशत इन्धनको रुपमा दाउरा, गुइँठालगायत कृषि क्षेत्रबाट फालिएका वस्तु बल्ने प्रचलन कायमै छ ।
नेपालमा करीब १० वटा वायोमास इनर्जी कम्पनीले वनश्रोतमा आधारित ऊर्जा (वायो विक्रेट, पेलेट आदि) उत्पादन गरी बजारीकरण गरिरहेका छन् । यीमध्ये कहिले औधोगिकस्तरमा पेलेट उत्पादन लक्ष्य लिई सरकारसँग वनमा रहेको वायोमास सङ्कलन र प्रयोगको सम्झौता गरी उत्पादन शुरु गरेको छन् ।
यसले वनको वायोमास सङ्कलनकार्य दिगो किसिमले नहुने र त्यसको कारण वनविनाश बढ्ने प्रतिवेदनमा उल्लेख छ । वायोमास अर्थात् वनमा रहेका घाँस, पात, पतिङ्गर, बुट्यान, हाँगाबिंगाको साथमा वनका विरुवा र रूखसमेत काटिने गरिएको छ ।
तत्काल वायोमास इनर्जी रणनीति, २०१७ खारेज गरी नयाँ ऊर्जा नीति वृहत छलफल र परामर्शमा बनाइनुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ । यस्तै परम्परागतरूपमा उपयोग गरी रहेको वायो इनर्जीलाई व्यापारीकरण गर्ने कार्य तत्काल रोकिनुपर्ने, समुदायका वनश्रोतमा आश्रित समुदायको इन्धनमाथिको अधिकार खोस्नेकार्य बन्द गरिनुपर्नेलगायत प्रतिवेदनको सुझाव छ ।