५ कार्तिक, काठमाडाैँ। काठमाडाैँ महानगरकी उपमेयर सुनिता डंगोलले निर्वाचन आयोगलाई पत्र लेखेकी छन्। उनले आफ्नो नाममा नक्कली परिचय बनाएर समाजिक सञ्जालको दुरुपयोग गर्ने काम भइरहेको भन्दै पत्र लेखेर पठाएकी हुन्।
उनले पत्रमा मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई केन्द्र बनाएर अफवाह फैलाउन, गलत सूचना तथा व्यहोरा सम्प्रेषण गर्न आफ्नो नाम प्रयोग भइरहेको उल्लेख गरेकी छन्।
उनले सोही पत्रमा उनका आधिकारिक सामाजिक सञ्जाल अकाउन्टबारे जानकारी गराउँदै नक्कली आइडी बनाएर अफवाह फैलाउनेलाई कारबाही गर्न समेत अनुरोध गरेकी छिन्।