६ कार्तिक, एजेन्सी। टिकटकले आफ्नो मूल कम्पनी बाइटडान्सको चीनमा आधारित टोलीले अमेरिकी नागरिकहरूको लोकेशन ट्र्याक गर्न एप प्रयोग गर्ने योजना बनाएको रिपोर्टलाई अस्वीकार गरेको छ।
चर्चित सामाजिक सञ्जालले ट्विटरमार्फत अमेरिकी नागरिकहरू, पत्रकार, कार्यकर्ता तथा सार्वजनिक व्यक्तित्व लक्षित कुनै योजना नबनाएको बताएको छ। कम्पनीले अमेरिकी प्रयोगकर्ताहरूबाट सटिक लोकेशन डाटा सङ्कलन नगर्ने पनि दाबी गरेको छ।
फोर्ब्सको एक रिपोर्टमा प्रयोगकर्ताको जानकारी वा सहमति बिना टिकटकले व्यक्तिगत विवरण संकलन गर्ने उल्लेख गरिएको थियो। त्यसलाई खण्डन गर्दै टिकटकले ट्विटरमा धारणा सार्वजनिक गरेको हो।
पछिल्लो समय अमेरिका र चिनियाँ एप टिकटकमाथि आरोप प्रत्यारोप भइरहेको छ।