८ कार्तिक, एजेन्सी। सबै भन्दा लामो समय ड्रोन उडाएर चीनको एक विश्वविद्यालयको टोलीले विश्व रेकर्ड कायम गरेको छ। मेकानिकल पँखेटाको सहारामा उड्ने मानवरहित ड्रोन सबै भन्दा लामो समयसम्म उडेपछि उक्त टोलीले गिनिज बुकमा रेकर्ड दर्ता गराएको हो।
बेइहाङ विश्वविद्यालयका अन्वेषकहरू र विद्यार्थीहरूले बनाएको यो चराको जस्तो देखिने ड्रोन एक घण्टा ३१ मिनेट ४.९८ सेकेन्डसम्म लगातार उड्न सफल भयो।
बिहीबार जारी गरिएको भिडियोमा जुलाई २१ मा बेइजिङको खुला मैदानमा उक्त ड्रोनले एक पटकको चार्जमा रेकर्ड राख्नेगरी उडेको देखाइएको छ।
लिथियम-आयन ब्याट्रीद्वारा संचालित, फ्ल्यापर ड्रोनको तौल १.६ किलोग्राम छ। यसको पखेटा दुई मिटर छ र प्रति सेकेन्ड १० मिटरको गतिमा उड्न सक्ने बताइएको छ।
युनिभर्सिटीको रिसर्च इन्स्टिच्युट फर फ्रन्टियर साइन्सका सहयोगी अनुसन्धानकर्ता र अनुसन्धान टोलीका सदस्य झाओ लोङफेईले टोलीले अक्टोबर २०२१ मा गिनिज च्यालेन्जका लागि आवेदन दिएको बताएका छन्।
यसभन्दा अघि गरेको परीक्षण उडानमा यो ड्रोन जम्मा ५३ मिनेट मात्रै उड्न सफल भएको थियो। तर। प्राविधिक परीक्षण र सम्पादन पछि ड्रोनले गिनिज बुकमा नाम लेखाउन सफल भयो।