११ कार्तिक, एजेन्सी। विश्वकै धनाड्य व्यक्ति एलन मस्कले ट्विटर खरिद गरेका छन्। उनले ४४ अर्ब डलरमा चर्चित सामाजिक सञ्जाल ट्विटरको स्वामित्व ग्रहण गरेका हुन्।
उनले ट्विटर खरिद प्रक्रिया पुरा गरेपछि ‘अब चरा स्वतन्त्र भयो’ भन्दै ट्विट गरेका छन्।
मस्कले ट्विटरका सिइओ पराग अग्रवालसहित केही उच्च अधिकारीलाई बर्खास्त गरिएको बताइएको छ।
अप्रिलमा ट्विटर खरिद गर्ने सम्झाैता गरेका मस्क सम्झाैता कार्यान्वयन गर्नबाट पछि समेत हटिसकेका थिए। तर, अदालतमा मुद्दा परेपछि उनी मोटो रकम तिरेर चर्चित सामाजिक सञ्जालको मालिक भएका छन्।
ट्विटरले यसको स्वामित्व हस्तान्तरण भएको पुष्टि गरेको छैन। यद्यपि कम्पनीका लगानीकर्ताले बीबीसीलाई सम्झौता पूरा भएको बताएका छन्।
मस्कले वाक तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ट्विटर खरिद गर्न चाहेको अप्रिलमै बताएका थिए। उनले कुरा सुरू गरेको केही हप्तामै सम्झाैता समेत भएको थियो।