१२ कार्तिक, झापा। हात्तीबाट पाकेको धानबाली जोगाउन बाहुनडाँगीमा सात वटा साइरन जडित ट्र्याक्टर परिचालन गरिएको छ ।
भारतबाट दैनिक ५०–६० को सङ्ख्यामा नेपाल प्रवेश गर्ने हात्तीलाई धपाउन सीमानाकामा साँझ परेदेखि उज्यालो नभएसम्मका लागि साइरनसहितको ट्र्याक्टर परिचालन गरिएको हो । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका सीमा क्षेत्रको आलडाँगी, भोर्लेनी, बाहुनडाँगी भन्सार नाका, मिलनचोक, पुरानो नकलबन्द जाने बाटो, राइसिङ पुल र माता चोकमा एक–एक वटाका दरले ट्र्याक्टर राखिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए ।
विगत सात वर्षअघि प्रकृति संरक्षण कोषमार्फत गरिएको विद्युतीय तारबार भत्काएर हात्ती गाउँ पस्न थालेपछि गाउँवासी र अन्नबालीको सुरक्षाका लागि साइरन जडित ट्र्याक्टर परिचालन गरिएको अध्यक्ष कार्कीको भनाइ छ । विद्युतीय तारबार मर्मतसम्भारको अभावमा काम नलाग्ने अवस्थामा पुगेको बताउँदै कार्की भन्छन्, “हुल बाँधेर आएका हात्ती साइरन बज्न थालेपछि तितरवितर भएर भारततर्फ फर्किन्छन् । दिगो समाधान होइन, तत्कालको लागि बाली जोगाउने वैकल्पिक उपाय भएको छ ।”
साइरन बजेपछि हात्ती आएको थाहा पाएर गाउँले पनि सचेत रहने गरेको उनको भनाइ छ । निर्वाचनमा क्षेत्र नम्बर १ का सबै राजनीतिक दलको एजेण्डा हात्ती समस्या समाधान गर्ने भनिएपनि जितेर गएपछि बेवास्ता गरेको स्थानीयवासीको भनाइ छ । जिल्लाको भद्रपुर, कचनकवल, विर्तामोड, बुद्धशान्ति, दमकलगायतका क्षेत्रमा हात्तीको उत्तिकै त्रास रहेको छ ।