१६ कार्तिक, एजेन्सी। भेरिफाइड ट्विटर अकाउन्ट चलाउनेले मासिक ८ अमेरिकी डलर शुल्क तिर्नुपर्ने भएको छ। कम्पनिका मालिका एलन मस्कले ट्विटरमा ब्लु टिक भएका प्रयोगकर्ताहरूले उक्त शुल्क तिर्नुपर्ने संकेत गरेका छन्।
देश अनुसार यो शुल्क घटबढ हुन सक्ने मस्कले बताएका छन्। विश्वका अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत मुलुकहरूमा ट्विटरको ब्लु सर्भिस रहेको छ। अमेरिकामा ब्लु टिक भएका प्रयोगकर्ताले प्रतिमहिना ४.९९ डलर शुल्क तिर्नुपर्छ।
ट्विटर थ्रेडमा मस्कले नयाँ ब्लू सर्भिसका ग्राहकहरूले रिप्ला, मेन्स र सर्चमा पनि प्राथमिकता पाउने खुलासा गरेका छन्। मस्कले नक्कली अकाउन्टबाट छुटकारा पाउन शुल्क तिर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
ट्विटरमा ल्याउने तयारी भएको परिवर्तनले ४ लाख ब्लु टिक भएका अकाउन्टहरू प्रभावित हुने बताइएको छ। ब्लु सर्भिस सब्स्क्राइबरहरूका लागि विज्ञापन पनि कम देखाइने समेत तयारी रहेको छ।
सोमबार ट्विटर प्रमाणिकरणका लागि प्रतिमहिना २० डलर तिर्नुपर्ने योजना लिक भएको थियो। यो रहस्य बाहिरिएसँगै प्रयोगकर्ताहरूले आलोचना सुरू गरेका थिए।
सन् २००९ देखि ट्विटरमा ब्लु टिक भेरिफिकेसन सुरू गरिएको थियो। यी अकाउन्टहरू सम्बन्धित व्यक्ति वा संस्थाहरूको आधिकारिक भएको प्रमाण ब्लु टिकले दिने गर्दछ।
गत हप्ता एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गरेका छन्। अहिले उनी चर्चित सामाजिक सञ्जालमा ठूलो परिवर्नत गर्न लागि परिरहेका छन्।