२३ कार्तिक, एजेन्सी। अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लामा मालिक एलन मस्कले टेस्लाको करिब २ करोड कित्ता शेयर बेचेका छन्। उनले करिब करिब ४ अर्ब डलर मूल्य बराबरको शेयर बिक्री गरेका हुन्।
उनले गतहप्ता मात्रै ४४ अर्ब डलरमा चर्चित सामाजिक सञ्जाल ट्विटर खरिद गरेका छन्। सोही प्रयोजनका लागि उनले टेस्लाको शेयर बिक्री गरेको अनुमान छ।
यस वर्षको सुरूवातदेखि टेस्लाको शेयरमा ५० प्रतिशतको गिरावट अाएको छ।
त्यस्तै, अमेरिकामा बिक्री गरिएका करीब ४० हजार वटा टेस्लाका कारहरू समेत टेस्लाले फिर्ता बोलाउने भएको छ। पावर स्टेरिङमा समस्या देखिएपछि ती कारहरू फिर्ता बोलाइने भएको हो।
पछिल्लो बिक्रीसँगै मस्कले ट्विटर खरिद गर्ने घोषणा गरेपछि उनले २० अर्ब डलरको शेयर बिक्री गरिसकेका छन्। गत अप्रिलमा उनले करिब ९ अर्ब डलरको र अगस्टमा ७ अर्ब डलरको शेयर बिक्री गरेका थिए।