२७ कार्तिक, एजेन्सी। ट्विटरले ब्लु टिक सब्स्क्रिप्सनका लागि तिर्नुपर्ने प्रावधान रोकेको छ। सिएनबिसीको रिपोर्ट अनुसार ट्विटरले तत्कालका लागि यो योजना रोकेको हो।
विश्वकै धनाड्य व्यक्ति एलन मस्कले ट्विटर खरिद गरेको केही दिनमा नै ब्लु टिक भेरिफिकेशनका लागि ८ डलर तिर्नुपर्ने घोषणा गरेका थिए। उनको उक्त घोषणाको चर्को आलोचना भएको थियो।
एलन मस्कले शुल्क लिएर ब्लु टिक भेरिफिकेशन दिने घोषणा गरेसँगै ट्विटरमा नक्कली अकाउन्टहरूको बिगबिगी सुरू भएको थियो। यस्ता अकान्टहरू बन्द समेत गरिएको थियो।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नामको भेरिफाइड अकाउन्ट नै ट्विटरमा देखा परेपछि प्रयोगकर्ताहरूले ट्रम्प ट्विटरमा फर्किएको आँकलन गरेका थिए।
ट्रम्पका अलावा टेस्ला, ट्विटर र एली एण्ड लिली नामका चर्चित कम्पनीहरूका नक्कली अकाउन्टहरू पनि ट्विटरमा देखिएका थिए। यो समस्या देखिएपछि ट्विटर अघिल्लो घोषणबाट तत्कालका लागि पछि हटेको अनुमान गरिएको छ।