२८ कार्तिक, एजेन्सी। ट्विटरमा इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्टको नाममा समेत भेरिफाइड अकाउन्ट देखिएको छ। ट्विटरले आधिकारिक रूपमा जिसस क्राइस्ट नामको प्यारोडी पृष्ठ प्रमाणित गरेको छ।
उक्त नामको अकाउन्ट ब्लु चेकमार्क पनि रहेको छ। ८ डलर तिरेपछि ब्लु मार्क लिन पाइने भएपछि अहिले विभिन्न ठूला व्यक्ति र कम्पनीको नाममा समेत अकाउन्ट बन्न थालेका छन्। यसै अनुरूप क्राइस्टको नाममा समेत ट्विटर अकान्ट देखिएको हो।
उक्त ट्विटर अकाउन्टमा जिससको मूर्तिको फोटो राखिएको छ। उक्त तस्बिरमा दायाँ हातको बुढी औंला उठाइएको र दाया हातको औंला कतै देखाइएको छ।
उक्त ट्विटर अकाउन्टमा ७ लाख ८३ हजार फलोअर्स समेत रहेका छन् भने बायोमा ‘कार्पेन्टर, हिलर र गड’ उल्लेख गरिएको छ।
उक्त ह्यान्डलबाट सामान्यतया हास्यास्पद कुराहरू ट्वीट गरिएको पाइएको छ।
एलन मस्कले ४४ अर्ब डलरमा चर्चित सामाजिक सञ्जाल खरिद गरेपछि मासिक ८ डलर शुल्क तिरेर अकाउन्ट भेरिफाइ गर्न सकिने प्रावधान ल्याएका थिए। जसका कारण ट्विटरमा भेरिफाइड तर नक्कली अकाउन्टको बिगबिगी देखिएको थियो।
तर, अहिले तत्कालका लागि भने ट्विटरले शुल्क तिरेर ब्लु टिक भेरिफिकेशन गर्न रोकेको छ।