२९ कार्तिक, एजेन्सी। एप्पल कम्पनीका सह-संस्थापक स्टिभ जब्सले लगाएको एक जोडी चप्पल २ लाख १८ हजार अमेरिकी डलरमा बिक्री भएको छ। उनले क्यालिफोर्नियाको घरमा बस्दा लगाएका चप्पल लिलामीमा बिक्री भएको हो।
सन् १९७० को दशकमा राम्रोसँग प्रयोग गरिएको खैरो साबर बर्केनस्टक्सले एक जोडी चप्पलले अहिलेसम्म कै सबैभन्दा ठूलो मूल्य पाएको जुलियन अक्सनले बताएको छ।
उक्त चप्पल जब्सले लामो समयसम्म प्रयोग गरेका कारण चप्पलमा उनको खुट्टाको छाप रहेको बताइएको छ। उक्त चप्पल ६० हजार अमेरिकी डलरमा बिक्री हुने अनुमान गरिएको थियो तर अन्तिममा चप्पल २ लाख १८ हजार ७५० डलरमा बिक्री भयो।
चप्पलको खरिदकर्ताको नाम भने सार्वजनिक गरिएको छैन।
सन् १९७६ मा जब्स र स्टिभ वोजनिकले उनीहरूको अभिभावकको घरमा एप्पल कम्पनि स्थापना गरेका थिए। सन् २०११ मा क्यानसरका कारण स्टिभ जब्सको मृत्यु भएको थियो।