१ मंसिर, एजेन्सी। अमेरिकी अन्तरिक्ष संस्था नासाले आर्टिमिस मुन रकेट प्रक्षेपण गरेको छ। चन्द्रमा पुग्ने मिसनसहित उक्त रकेट बुधबार प्रक्षेपण गरिएको हो। यो अन्तरिक्षको उद्देश्य चन्द्रमामा मानव पुर्याउनु रहेको छ।
बुधबार स्थानीय समय अनुसार बिहान १ः ४७ बजे फ्लोरिडाको प्रक्षेपण केन्द्रबाट रकेट प्रक्षेपण गरिएको हो। यो रकेटलाई अहिलेसम्म कै सबैभन्दा शक्तिशाली रकेट भनिएको छ।
नासाको आर्टिमिस मुन रकेट प्रक्षेपण गर्ने यसभन्दा अघिका २ वटा प्रयास विफल भएका थिए। अगस्टको सुरूमा प्राविधिक समस्याका कारण रकेट प्रक्षेपण हुन सकेको थिएन। त्यस्तै, सेप्टेम्बरमा गरिएको दोश्रो प्रयास इन्धन चुहावटका कारण रद्द गरिएको थियो।
त्यस्तै, यो रकेट प्रक्षेपण गर्ने तेश्रो प्रयास माैसमी आँधीका कारण प्रभावित भएको थियो।
यो मिसनमा एसएलएस भनेर चिनिने विशाल रकेटको प्रयोग समावेश छ। जसले मानवरहित क्याप्सुल ओरियनलाई चन्द्रमाको पछाडिपट्टि पठाउनेछ।
यो परीक्षण सफल भएको अवस्थामा सन् २०२५ मा चन्द्रमामा करीब ५० वर्षपछि पहिलो पटक यात्रुहरू पठाउन सकिने नासाले अपेक्षा गरेको छ। बुधबार प्रक्षेपण गरेको रकेटमा मानिसहरू छैनन्। यसलाई कार्गो रकेटको रूपमा व्याख्या गरिएको छ।