४ मंसिर, एजेन्सी। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट पुनः सुरू हुने भएको छ। ट्विटरमा गरिएको सर्वेक्षण ट्रम्पको अकाउन्ट सुचारू गर्ने पक्षमा देखिएपछि उनले ट्विटर चलाउन पाउने भएका हुन्।
करीब १ करोड ५० लाखले गरेको भोटमा ५१.८ प्रतिशत सहभागीले ट्रम्पको अकाउन्ट सुचारू गर्ने पक्षमा मत दिएका थिए। उक्त सर्वेक्षणको नतिजासहित ट्विटरका नयाँ मालिक एलन मस्कले ट्रम्पको अकाउन्ट सुचारू हुने बताएका छन्।
तर, ट्रम्पले भने ट्विटरमा फर्किने चाहना नभएको बताएका छन्। सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएपछि ट्रम्पले आफ्नै सञ्जाल ट्रुथ सोसियल सञ्चालन गरेका थिए। उनले अब उक्त सञ्जालमा नै सक्रिय रहने प्रतिक्रिया दिएका छन्।
ट्विटरमा उत्तेजक सामग्रीहरू प्रकाशन गरेपछि कम्पनीले उनीमाथि प्रतिबन्ध लगाएको थियो। ट्रम्पमाथि फेसबुक र युट्युबले पनि प्रतिबन्ध लगाएका छन्।