मंसिर ५, पोखरा। मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्सिर ५ गते सोमबारदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन हुँदैछ ।
यान्त्रिक उडानका लागि सम्पूर्ण तयारी पूरा भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पोखरा विमानस्थलमा एक साता यान्त्रिक उडान हुनेछ । उक्त प्रयोजनका लागि एरोथाई कम्पनीको जहाज शनिबार नै पोखरा विमानस्थलमा पुगिसकेको छ । प्राधिकरणले मङ्सिर ५ देखि १२ गतेसम्मको यान्त्रिक उडानको तालिका बनाएको हो ।
यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे÷नगरेको परीक्षण गरिनेछ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिन्छ । प्राधिकरणले आगामी जनवरी १ (पुस १७ गते) देखि पोखरा विमानस्थल व्यावसायिक सञ्चालनको घोषणा गरिसकेको छ ।
यान्त्रिक उडानका क्रममा पोखरा विमानस्थलमा हुने आन्तरिक उडान सामान्य प्रभावित हुनेछ । उडान प्रभावित हुने भएकाले साबिकको उडान तालिका हेरफेर गर्न सरोकारवाला एयरलाइन्ससँगको छलफलपछि निर्णय भएको प्रवक्ता निरौलाले बताए । उडान तालिका परिवर्तन हुने भएपछि एयरलाइन्सले सूचना निकालेर यात्रुलाई जानकारी गराइसकेका छन् ।
“बिहान १० बजेसम्म उडान हुन्छ र उडान बन्द हुन्छ । १० देखि दिउँसो १ बजेसम्म यान्त्रिक परीक्षण उडान हुन्छ । पुनः १ देखि २ः३० बजेसम्म उडान हुन्छ र त्यसपछि पुनः यान्त्रिक उडान सञ्चालन गरिन्छ । यान्त्रिक उडानका बेला नियमित उडान सामान्य प्रभावित हुने भएकाले एयरलाइन्सलाई ‘रिसेड्युल’ गर्न आग्रह गरेका छौँ”, प्रवक्ता निरौलाले भने ।
पोखरा विमानस्थलमा बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले उडान गर्दै आएका छन् । पोखरालगायत देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गरिने प्राधिकरणले जनाएको छ । यान्त्रिक उडान सकेर आगामी डिसेम्बर ५ मा एरोथाईको जहाज फर्किने प्रवक्ता निरौलाले बताए । एरोथाईको जहाजले देशभरका आन्तरिक विमानस्थलको उपकरण जाँचमा नियमित परीक्षण उडान गर्नेछ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । यो विमानस्थलको लगानी करिब २२ अर्ब हुने प्राधिकरणले जनाएको छ । विमानस्थलको हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ ।
ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको पोखरा विमानस्थल नजिकै रिट्ठेपानी डाँडो पहिलो चरणमा १४ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । यान्त्रिक उडानका लागि सुरुमा १४ मिटर डाँडा कटान गरिएको हो ।