१२ मंसिर, काठमाडाैँ। नेपाली पब्जी टोली ट्रेन्ड टु किल (टिटुके) पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पिएमजिसी)को फाइनलका लागि छनाैट भएको छ। अंक तालिकाको तेश्रो स्थानमा रहँदै टिटुकेले फाइनलमा स्थान बनाएको हो।
समूह चरणका २४ खेलमा टिटुकेले २१४ अंक बनाएको थियो। किलमार्फत ९२ अंक पाएको टिटुकेले प्लेसमेन्टमार्फत १२२ अंक बटुल्यो। त्यस्तै, टिटुकेसँग समान अंक रहेको रिजेक्ट भने चाैथो स्थानमा रहन सफल भयो।
पिएमजिसीमा दुबै टोलीको समान अंक भएको अवस्थामा चिकन डिनर र त्यो पनि समान भएको अवस्थामा प्लेसमेन्ट पोइन्टका आधारमा अंक तालिका बनाइन्छ।
रिजेक्ट र टिटुकेको समग्रमा समान अंक र चिकन डिनर नै भएको अवस्थामा प्लेसमेन्ट पोइन्ट धेरै भएका कारण टिटुके तेश्रो स्थानमा रहँदै फाइनलका लागि छनाैट भएको हो।
यसभन्दा अघि अर्को समूहबाट डिआरएस गेमिङ र स्काइलाइट्ज गेमिङ सर्भाइभल स्टेजका लागि छनाैट भएका छन्। अंक तालिकाको ४-११ स्थान रहनेहरू सर्भाइभल स्टेजमा खेल्नेछन्।
अंक तालिकाको तेश्रो स्थान रहन सफल टिटुकेले पुरस्कार स्वरूप १ करोड नेपाली रूपैयाँभन्दा बढी पनि पाएको छ। पिएमजिसीको फाइनल ६ देखि ८ जनवरीमा इन्डोनेसियाको जाकार्तामा हुनेछ।