२१ मंसिर, काठमाडाैँ। अष्ट्रेलियाका २ ठूला कम्पनीहरू अप्टस र मेडिबैंकमा भएको साइबर हमलापछि प्रभावित भएका व्यक्तिहरूले राहदानी बनाउन सक्ने भएका छन्। क्यानबेरास्थित नेपाली राजदूतावासले नयाँ राहदानी बनाउने सम्बन्धमा सुचना जारी गरि यसबारे जानकारी दिएको हो।
दूतावासले जारी गरेको सुचना अनुसार डाटा चोरी भइ नयाँ राहदानी बनाउनु पर्ने भन्ने जानकारीसहितको प्रमाण पेश गरि नयाँ राहदानीको लागि आवेदन दिन सक्नेछन्। यसका लागि नियमित आवेदकहरूले जसरी नै इपासपोर्ट र प्रि-इनरोलमेन्ट फारम भर्नुपर्ने दूतावासले जानकारी दिएको छ।
दूतावासद्वारा जारी सुचनामा भनिएको छ, ‘राहादानी ऐन २०७६ अनुसार राहदानीको बहाल अवधी एक बर्षभन्दा बढी रहेमा राहदानी नवीकरण गर्न नमिल्ने हुँदा राहदानीको बहाल अवधी एक बर्षभन्दा बढी भएमा Damaged अन्तर्गत आवेदन दिनु पर्नेछ र राजश्व शुल्क समेत सोही बमोजिम हुनेछ ।’
त्यस्तै, इपासपोर्ट बनाउने सम्बन्धमा दूतावासको वेभसाइट https://au.nepalembassy.gov.np/passport/ बाट विस्तृतमा जानकारी लिन सकिने दूतावासले जानकारी दिएको छ।
गत महिना अष्ट्रेलियामा टेलिकम सेवा प्रदायक कम्पनी अप्टस र बिमा सेवा प्रदायक कम्पनी मेडिबैंकमा ह्याकरले आक्रमण गरि लाखाैँ ग्राहकहरूको व्यक्तिगत विवरण चोरी गरेका थिए। उक्त साइबर आक्रमणबाट अष्ट्रेलियामा बसिरहेका नेपाली नागरिकहरू पनि प्रभावित भएका छन्।