२३ मंसिर, एजेन्सि। एप्पलको सेल्फ-रिपेयर सर्भिस सुरू भएको छ। युके लगायत अन्य सात वटा युरोपियन मुलुकहरूमा बिहीबारदेखि एप्पलको सेल्फ-रिपेयर सर्भिस सुरू भएको हो।
अब उक्त देशका आइफोन-१२, आइफोन-१३ र केही म्याकबुक धनीहरूले सामानहरू खरिद गरेर अनलाइनमा हेर्दै आफ्नो डिभाइस आफै मर्मत गर्न सक्नेछन्।
तर, मर्मत गर्दा केही गल्ती भएर डिभाइस बिग्रिएमा वाेरन्टी मान्य नहुने भन्दै कम्पनीले चेतावनी जारी गरेको छ।
एप्पलले नोभेम्बर २०२१ मा नै अमेरिकामा भने सेल्फ-रिपेयर सर्भिस सुरू गरिसकेको छ। ‘राइट टु रिपेयर’ अभियानका सदस्यहरू एप्पलले मर्मतमा एकलाैटी राज गरेका कारण धेरै मूल्य तिर्नुपरेको भन्दै कम्पनी विरूद्ध लागेका थिए।
सेल्फ-रिपेयर सर्भिस अन्तर्गत प्रयोगकर्ताहरूले ब्याट्री परिवर्तन गर्ने, स्क्रिन अर्को लगाउने र फोन केसिङ जस्ता कामहरू आफै गर्न सक्नेछन्।
अहिले वित्तीय र वातावरणीय कारणले गर्दा हार्डवेयरको आयु विस्तार गर्न प्राविधिक फर्महरूमा दबाब बढेको छ। २०२१ देखि वाशिङ मेसिन र टेलिभिजन जस्ता उपकरणहरूको निर्माताहरूले यूकेमा स्पेयर पार्ट्स दिनु पर्ने प्रावधान ल्याइएको छ।
यूकेको “राइट टु रिपेयर” कानून ऊर्जा घटाउने र उत्पादनको आयु विस्तार गर्ने उद्देश्यले युरोपेली संघमा लागू भएका नियमहरूसँग मिल्दोजुल्दो छ।