२४ मंसिर, काठमाडाैँ। अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियन (आइएयु)ले पहिलोपटक नेपालमा आयोजना गरेको अन्तर्राष्ट्रिय सङ्गोष्ठी ‘आइएयु सिम्पोजियम ३७५’ सम्पन्न भएको छ ।
आइएयु सिम्पोजियम ३७५, ‘द मल्टिमेसेन्जर चक्र अफ ब्लाजार जेट्स’ सङ्गोष्ठी आज सम्पन्न भएको हो । मङ्सिर १९ देखि २३ गतेसम्म चलेको ‘आइएयुएस ३७५’ सङ्गोष्ठीमा भारत, चीन, अमेरिका, रुस, जर्मनी, फ्रान्स र बेलायतलगायत विभिन्न देशका एक सयभन्दा बढी सहभागी थिए । यस गोष्ठीमा ‘ब्लाजार जेट’ सम्बन्धी ८० भन्दा बढी पछिल्ला अनुसन्धानसम्बन्धी कार्यपत्र प्रस्तुत भएको आयोजक समितिले जनाएको छ ।
कार्यपत्र विशेष गरेर ब्रह्माण्डमा भएको चाखलाग्दो उज्यालो वस्तु ‘ब्लाजार जेट’ मा केन्द्रित थिए । अनुसन्धानकर्ताहरूका अनुसार तिनीहरू सबैभन्दा उच्च सक्रिय ‘ग्यालेक्टिक न्युक्ली’ हुन् । ती शक्तिशाली सापेक्षिक जेटको प्रकाश त्यसको केन्द्रीय इन्जिनबाट हामीतिर फैलिएका हुन्छन् ।
‘आइएयुएस ३७५’ का संयोजक यानिस लियोडाकिसले भने, “सङ्गोष्ठीको लक्ष्यअनुसार सहभागीहरूलाई ‘अपडेट’ गराउन सफल भयौँ ।” उनले सङ्गोष्ठीबाट प्राप्त ज्ञानलाई अनुसन्धानकर्मीले वैज्ञानिक यात्रामा लागू गर्ने बताए ।
कार्यक्रम संयोजक लियोडाकिसका अनुसार खगोलीय विज्ञानमा समाधान हुन नसकेका खुला प्रश्नहरू समाधानतर्फ सङ्गोष्ठी केन्द्रित भएको छ । नेपाली सहभागीहरुले पनि यस सङ्गोष्ठीबाट ब्लाजारको क्षेत्रमा थप अनुसन्धान भविष्यमा गर्ने विश्वास लिएको संयोजक लियोडाकिसले बताए ।
सङ्गोष्ठीमा ‘र्याडएडहोम’को बारेमा छुट्टै कार्यशाला भएको थियो । “‘¥याडएडहोम’ छिमेकी देश भारतमा सामुदायिक पहलमा सञ्चालन भइरहेको खगोलीय अनुसन्धानमा आधारित कार्यक्रम हो”, नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नासोका कार्यक्रम संयोजक मनिषा द्वाले भने ।
त्यस अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत १२ देखि १४ वर्ष उमेर समूहका विद्यार्थीसँग अन्तक्र्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा विद्यार्थीले ‘ब्ल्याक होल’ अर्थात् कालो छिद्रका बारेमा प्रश्न राखेका थिए ।
सङ्गोष्ठीको अर्को आकर्षण पक्ष कक्षाकोठामा खगोलीय विज्ञान कसरी अध्यापन गराउने भन्ने कार्यशाला भएको थियो । कार्यशालामा रसियाली अनुसन्धानकर्ता युरी केभालेभले कक्षाकोठामा विद्यार्थीलाई विज्ञान बुझाउने सरल उपाय उपस्थित शिक्षकलाई सिकाएका थिए ।
कक्षाकोठामा ‘ब्लाजार’ र ‘ब्ल्याक होल’का बारेमा सरलरूपमा बुझाउन उनले सिकाए । शिक्षिका मीना महर्जनको प्रश्नको उत्तर दिँदै केभालेभले भने, “हामीले विद्यार्थीलाई पाठ्यक्रममा उल्लेख भएका विषयभन्दा पनि पृथ्वीको वायुमण्डलबाट रकेट कसरी बाहिर निस्कन्छन्, त्यसको बारेमा सिकाउन पर्दछ, त्यसले उनीहरूलाई विज्ञानप्रति अभिरुचि जगाउनेछ ।”
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष तथा सङ्गोष्ठी स्थानीय आयोजक समितिका सदस्य सुरेश भट्टराईले नेपालमा सङ्गोष्ठी पूर्णरूपमा सम्पन्न भएको बताए । विभिन्न देशका अनुसन्धानकर्मीको सहभागिता भएको सङ्गोष्ठी कार्यक्रम नेपालमा आइएयुले आयोजना गर्दा खगोलीय पर्यटनलाई पनि बढावा दिएको उनले बताए ।