२८ मंसिर, एजेन्सी। ट्विटरका मालिक एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्तिको सुचिको दोश्रो स्थानमा खस्किएका छन्। फ्रेन्च फेसन कम्पनीका मालिक बर्नार्ड अर्नल्टले मस्कलाई उछिनेका हुन्।
ब्लुमबर्ग र फोर्ब्सको रिपोर्ट अनुसार अहिले अर्नल्ट विश्वका सबैभन्दा धनी व्यक्ति भएका छन्। एलभिएमएच साम्राज्यका मालिक अर्नल्ट लुइस भिटन, क्रिस्टियन डियर, गिभिन्ची एण्ड टिफानी एण्ड को लगायत अन्य लक्जरी फेसन ब्राण्डका मालिक हुन्।
मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाको शेयर मूल्यमा भएको भारी गिरावटका कारण उनले पहिलो स्थान गुमाएको बताइएको छ।
फोर्ब्सका अनुसार सोमबार टेस्लाको शेयर ६ प्रतिशतले घटेको छ। शेयर बजारबाट टेस्लाले एकैदिन ७.४ बिलियन डलर गुमाएको छ।
पछिल्लो अपडेट अनुसार एलन मस्को सम्पत्ति १८१.३ बिलियन डलर रहेको छ। त्यस्तै, अर्नल्टको भने १८६.२ बिलियन डलर सम्पत्ति भएको फोर्ब्समा उल्लेख छ।
एलन मस्क करीब एक वर्षभन्दा बढी विश्वका सबैभन्दा धनी व्यक्तिको शीर्ष स्थान थिए। ४४ बिलियन डलरमा ट्विटर खरिद गरेपछि उनको सम्पत्ति घटिरहेको छ।