२९ मंसिर, एजेन्सी। एलन मस्कको प्राइभेट जेट विमान ट्र्याक गर्ने ट्विटर अकाउन्ट प्रतिबन्धमा परेको छ। सामाजिक सञ्जाल प्लेटफर्मका नयाँ मालिक मस्कले स्वतन्त्र अभिव्यक्ति सिद्धान्तहरूको बारेमा बोले पनि अकाउन्ट प्रतिबन्धमा परेको हो।
@elonjet नाम गरेको अकाउन्ट बुधबारबाट गायब भएको छ। उक्त अकाउन्टमा ५ लाख २६ हजारभन्दा बढी फलोअर्स रहेका थिए। उक्त अकाउन्टमा क्लिक गर्दा प्रतिबन्ध भएको जानकारी दिइएको छ।
पछिल्लो सयम ट्विटरले यसका शर्त तथा प्रावधान उल्लंघन गर्ने अकाउन्टहरू तीव्र गतिमा प्रतिबन्ध गरिरहेको छ।
एलन मस्कको जेट विमान ट्र्याक गर्न सन् २०२० मा युवा प्रोग्रामर ज्याक स्वीनीले उक्त अकाउन्ट चलाएका थिए। उक्त अकाउन्टमा मस्कले प्रयोग गर्ने जेट विमान कहाँ छ, कस्तो अवस्थामा छ, इन्धन कति छ र कता जाँदैछ भन्ने बारे निरन्तर रेकर्ड राखिरहेको हुन्थ्यो।
टेस्लाका मालिक मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गरेको करिब २ महिना भइसकेको छ। यस अवधिमा उनले गरेका कामहरू आलोचित भइरहेका छन्।