२९ मंसिर, एजेन्सी। एलन मस्कले विद्युतीय कार निर्माता कम्पनी टेस्लाको थप शेयर बेचेका छन्। उनले ३.५८ बिलियन डलर मूल्य बराबरको २ करोड २ लाख कित्ता शेयर बेचेको बिबिसीमा उल्लेख छ।
यो साता सोमबार, मंगलबार र बुधबार शेयर बिक्री भएको अमेरिकी वित्तीय नियामकले गरेको फाइलिङले जनाएको छ। यस हप्ताको सहित एक वर्षमा मस्कले टेस्लाको ४० बिलियन डलर बराबरको शेयर बेचेका छन्।
उनले यो हप्ताको सुरूवात मै विश्वकै सबैभन्दा धनीको स्थान गुमाएका छन्।
वर्षभरी नै शेयर बेचेता पनि एलन मस्कले नै टेस्लाको सबैभन्दा बढी शेयरको स्वामित्व लिएका छन्। वित्तिय विवरण प्रदान गर्ने निकाय रेफिनिटिभका अनुसार मस्कसँग टेस्लाको १३.४ प्रतिशत शेयर रहेको छ।
गत महिना मस्कले टेस्लाको करिब २ करोड कित्ता शेयर बेचेका थिए। उनले उक्त शेयर ट्विटर खरिद गरेको केही दिनमा नै बेचेका थिए।
टेस्ला यस वर्ष प्रमुख कार निर्माताहरू र टेक्नोलोजी कम्पनीहरू बीचको सबैभन्दा खराब प्रदर्शन गर्ने स्टकहरू मध्ये एक हो। ट्विटर खरिद गरेपछि मस्कले टेस्लाबाट ध्यान हटाएको भन्दै लगानीकर्ताहरू चिन्तित भएका छन्।