२९ मंसिर, एजेन्सी। क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी एफटिएक्सका संस्थापक पक्राउ परेका छन्। टाट पल्टिएको एफटीएक्सका संस्थापक साम बैंकम्यान-फ्राइडलाई बहामासमा पक्राउ गरिएको बिबिसीमा उल्लेख छ।
उनलाई क्यारेबियन देशको राजधानी नासाउको म्याजिस्ट्रेट अदालतमा उपस्थित गराइएको छ। पछिल्लो अपडेट अनुसार उनले उक्त अदालतबाट जमानत नपाएका कारण हिरासतमा नै बस्ने भएका छन्।
प्रहरीले ३० वर्षीय बैंकम्यान फ्राइडलाई अमेरिका र बहामासका कानुनविरुद्ध आर्थिक अपराध गरेको आरोपमा पक्राउ गरिएको बताएको छ।
गत महिना एफटिएक्सले अमेरिकामा टाट पल्टिएको भन्दै निवेदन दायर गरेको थियो। यसका लाखाै प्रयोकर्तारूले आफ्नो रकम फिर्ता लिन पाएका थिएनन्।
अदालतको फाइलिङका अनुसार एफटिएक्सले आफ्ना ५० ठूला ऋणदाताहरूको लगभग $३.१ बिलियन रकम राखेको छ।
बैंकम्यान-फ्राइड विरुद्धको सबैभन्दा गम्भीर आरोपहरू मध्ये उनले आफ्नो लगानी व्यापारिक कम्पनी अल्मेडामा लाखाैँ लगानीकर्ताहरूको रकम दुरूपयोग गरेको एक हो।
यस महिनाको सुरुमा बीबीसीसँग कुरा गर्दै बैंकम्यान-फ्राइडले फर्ममा गल्तीहरू भएको स्वीकार गरे तर अवैध गतिविधिको आरोपबाट आफूलाई टाढा राख्न खोजेका थिए।