१ पुस, एजेन्सी। ट्विटरले केही चर्चित पत्रकारहरूको अकाउन्टमाथि प्रतिबन्ध लगाएको छ। ट्विटरका मालिक एलन मस्कबारे समाचार लेख्ने पत्रकारहरूको अकान्ट बन्द गरिएको बिबिसीमा उल्लेख छ।
न्यूयोर्क टाइम्स, सीएनएन र वाशिंगटन पोस्टका रिपोर्टरहरूको अकाउन्ट बन्द गरिएको बताइएको छ।
ट्विटरका एक प्रवक्ताले टेक वेबसाइट द भर्जलाई प्रतिबन्ध लोकेशन डेटाको लाइभ सेयरिङसँग सम्बन्धित भएको बताएका छन्। मस्कले आफ्नो जेट ट्र्याक गर्ने प्रोफाइलको मालिकलाई मुद्दा हाल्ने वाचा गरेपछि यो प्रतिबन्ध लागेको हो।
प्रतिबन्धित पत्रकारको सूचीमा द इन्टरसेप्टका मिचा ली, म्यासेबलका म्याट बाइन्डर र स्वतन्त्र पत्रकार आरोन रुपर र टोनी वेबस्टर पनि परेका छन्।
ट्विटरको ट्रस्ट एण्ड सेफ्टी प्रमुख एला इरविनले द भर्जलाई प्रतिबन्धहरू बुधवार पेश गरिएको नयाँ नियमसँग सम्बन्धित भएको बताएकी छन्। जसले ट्विटरमा यूआरएलका माध्यमबाट लोकेसन लाइभ सेयर र प्रत्यक्ष जानकारीलाई निषेध गर्दछ।
बुधबार ट्विटरले एलन मस्कको प्राइभेट जेट ट्र्याक गर्ने व्यक्तिको अकाउन्ट बन्द गरेको थियो।