केही हप्ता अघिमात्रै बजारमा आएको च्याटबोट- च्याटजिपिटीको अहिले चर्चा चुलिएको छ। एआईको माध्यमबाट इन्टरनेटसँग सम्बन्धित अधिकांश कामहरू सरल रूपमा गर्ने भएका कारण नयाँ च्याटबोटको चर्चा बढिरहेको हो।
चर्चित सामाजिक सञ्जाल कम्पनी ट्विटरका नयाँ मालिक एलन मस्क सहितको आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च फर्म ‘ओपनएआई’ले डिसेम्बरको सुरूमा च्याटजिपिटी सार्वजनिक गरेको थियो।
त्यसको एक हप्तामा नै यसका विश्वव्यापी प्रयोगकर्ताको संख्या १० लाख भन्दा बढी पुगिसकेको थियो। निर्माता कम्पनीले च्याटजिपिटीमा प्रयोगकर्ताहरूले हरेक समस्याहरूको समाधाना पाउने बताएको छ।
तर, कम्पनीले प्रयोगकर्ताहरूलाई च्याटजिपिटीले केही समस्यासहितका उत्तर दिने र त्यसमा पनि केही पूर्वाग्रही हुने भन्दै चेतवानी दिएको छ।
सार्वजनिक भएको तीन हप्ता लागिसक्दा पनि कम्पनीले च्याटजिपिटीबारे प्रयोगकर्ताहरूको प्रतिक्रिया संकलन गरिरहेको जानकारी दिएको छ।
एआईहरूको बजारमा च्याटजिपिटी सबैभन्दा नयाँ अवधारणा हो। कम्पनीले जिपिटीको पूरा रूप प्रि-ट्रेन्ड ट्रान्सफर्मर भएको बताएको छ। च्याटजिपिटी बनाउन विकासकर्ताहरूले मानिसहरूसँग प्रत्यक्ष रूपमा नै वार्तालाप तथा प्रतिक्रिया गरेको बताइएको छ।
के गर्छ च्याटजिपिटीले ?
सामान्य भाषामा भन्दा च्याटजिपिटीले मावन जीवनका कामहरूलाई सरल र सहज रूपमा काम गर्न मद्दत गर्ने कम्पनीको दाबी छ।
केही सञ्चारमाध्यम तथा टेक एक्स्पर्टहरूले च्याटजिपिटीले मानिसहरूका सबै काम गर्न सक्ने समेत बताइरहेका छन्। यसको मद्दतबाट कोडिङ, स्तम्भ लेखन (आर्टिकल राइटिङ), घर संगारपटारमा सहयोग र खानेकुराको मेनु समेत बनाउन सकिने दाबी गरिएको छ।
यसका साथै च्याटजिपिटीले प्राकृतिक भाषामा नै सबैखाले प्रश्नहरूको उत्तर दिनसक्नेछ।
विशाल डेटा सेटमा प्रशिक्षित यो अहिलेसम्म सिर्जना गरिएको सबैभन्दा शक्तिशाली भाषा प्रशोधन मोडेलहरू मध्ये एक हो। यो च्याटबट विभिन्न शैली र विभिन्न भाषाहरूमा प्रतिक्रिया दिन सक्षम छ।
यसभन्दा अघिका च्याटबटहरूले सामान्य एक किसिमका समस्याहरू हल गर्न सहयोग गरिरहेका थिए। तर, च्याटजिपिटीले आर्टिकल लेख्न, शैक्षिक सामग्रीहरू बनाउन, जागिरको आवेदन लेख्न र कोड बनाउन समेत सहयोग गरिरहेको छ।
कसरी काम गर्छ च्याटजिपिटीले ?
च्याटजिपिटी ओपनएआईको एआई उत्पादनहरू मध्ये सबैभन्दा पछिल्लो र परिष्कृत सिर्जना हो। यसमा इमेज क्रिएशनका लागि DALL·E 2 समावेश गरिएको छ। DALL·E 2 प्राकृतिक भाषामा दिइएको विवरणबाट नै यथार्थवादी तस्बिर सिर्जना गर्नसक्ने नयाँ एआई प्रणाली हो।
यो एक ट्रान्सफर्मर वा मेसिन लर्निङ मोडेल हो। मानव मस्तिष्क जस्तै काम गर्न सक्षम यो मोडेल प्राकृतिक भाषाका क्रमिक डेटालाई सरल रूपमा बुझेर सोही अनुसार प्रतिक्रिया दिन सक्छ। त्यस्तै, सोधिएका प्रश्नहरूका अन्तरसम्बन्धित न्युरोनहरूका माध्यमबाट पछिल्लो प्रश्नपछि के आउँछ भनेर सटिक अनुमान समेत गर्न सक्नेछ।
वार्तालापहरू सहित इन्टरनेटबाट ठूलो मात्रामा डाटामा प्रशिक्षित यो प्रविधि रिइन्फोर्समेन्ट लर्निङ फ्रम ह्युमन फिडब्याक (RLHF) नामक लर्निङ टेक्निकबाट च्याटजिपिटीलाई प्रशिक्षित गरिएको छ। जसमा प्रयोगकर्ताहरूले एआई च्याटबट र प्रयोगकर्ता दुबै तरिका प्रयोग गरेर वार्तालापहरूको श्रृंखला प्रदान गरिएको युरोन्युजमा उल्लेख छ।
च्याटबट भएता पनि यो मोडलले दिने प्रश्नका उत्तर र गर्ने कामहरू मानवीय जस्तै हुने निर्माण प्रक्रियामा सहभागी ओपन युनिभर्सिटिका प्रोफेसर माइक सार्पल्सले बताएका छन्।
कसरी प्रयोग गर्न सकिन्छ च्याटजिपिटी ?
अहिले प्रयोगकर्ताहरूले यसको निः शुल्क प्रयोग गर्न पाउनेछन्। फोन नम्बर र इमेल आइडी राखेर अकाउन्ट बनाएपछि यसमा हरेक प्रकारका प्रश्नहरू सोध्न सकिनेछ।
अहिले परीक्षणको चरणमा समेत रहेका कारण यसमा जोडिने केही प्रयोगकर्ताहरू परीक्षण प्रक्रियामा समेत सहभागी हुने युरोन्युजमा उल्लेख छ।