१० पुस, एजेन्सी। फेसबुकको मालिक कम्पनी मेटाले बिना अनुमति डाटा बेचेको मुद्दा सल्टाउन ७२ करोड डलर तिर्ने भएको छ। राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकासँग जोडिएको डाटा चोरीको मुद्दामा मेटाले उक्त क्षतिपूर्ति तिर्ने भएको हो।
लामो समयदेखि चलिरहेको विवादमा सामाजिक सञ्जाल कम्पनी मेटाले बेलायती फर्म लगायत तेस्रो पक्षहरूलाई फेसबुक प्रयोगकर्ताहरूको व्यक्तिगत डाटामाथि अनधिकृत पहुँच गर्न अनुमति दिएको आरोप लगाइएको थियो।
मेटाले तिर्ने भनिएको यो रकम अमेरिकामा गोपनीयताको शर्त उल्लंघन गरेको मुद्दामा तिराउन लागिएको अहिलेसम्म कै सबैभन्दा ठूलो जरिबाना भएको बताइएको छ।
गल्ती स्वीकार नगरेको मेटाले विगत तीन वर्षमा गोपनीयताको लागि आफ्नो दृष्टिकोणलाई परिमार्जन गरेको बताएको छ।
एक विज्ञप्तिमा कम्पनीले यो मुद्दा सल्टाउनु समुदाय र शेयरधारकहरूको सर्वोत्तम हितमा भएको बताएको छ।
प्राविधिक लेखक जेम्स बलले बीबीसीलाई मेटाले गम्भीर क्षतिपूर्ति तिर्ने सवालमा सहमत हुनुमा आश्चर्यजनक कुरा नभएको बताएका छन्।
प्रयोगकर्ताहरूको सहमति बिना सामाजिक नेटवर्कमा व्यक्तिगत डाटा तेस्रो पक्षहरूलाई दिइएको विषयमा फेसबुक प्रयोगकर्ताहरूको ठूलो प्रस्तावित वर्गले मुद्दा दायर गरेका थिए।