११ पुस, बाँके। बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाका केही गाउँमा अझै विद्युतीकरण भएको छैन । गाउँपालिकाको बनियाँ गाउँलगायतमा विद्युतीकरण नहुँदा स्थानीय अध्याँरोमा बस्न बाध्य भएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए । “धेरै ठाउँमा विद्युतीकरण भएको छ तर केही ठाउँ बाँकी छ”, उनले भने । पालिकाको वडा नं ३ को रतैया, वडा नं १ को कटकुइँया, मझेरिटीलगायतका स्थानमा विद्युत्को पहुँच छैन ।
लुम्बिनी प्रदेससभाका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्ण केसी ‘नमुना’ ले नरैनापुरको दुर्गम बस्तीमा विद्युतीकरणका लागि चासो देखाएर विद्युतीकरणको पहल गरेका छन् । गाउँपालिका अध्यक्ष शाहको पहलमा प्रदेशसभा सदस्य केसीले आफ्नो चुनावी क्षेत्रका केही दुर्गम बस्तीमा देखिएको विद्युत्को अभावबारे अनुगमन गरेर जानकारी लिएका छन् ।
नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख सुरज गौतमसहित प्राविधिक टोली विद्युत् नपुगेको बस्तीको अनुगमन गरी फर्किएको छ । गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको बनियाँ गाउँमा हालसम्म बिजुली नपुगेकाले तत्काल विद्युत् पु¥याउन प्राधिकरणका प्रमुख गौतमसँग आग्रह गरेकोसमेत जानकारी दिए । नरैनापुरमा थप विद्युत् विस्तारका लागि एक हजार ५०० खम्बा र उक्त खम्बामा लाग्ने तारको व्यवस्था गर्न माग गरिएको छ ।
गाउँपालिका अध्यक्ष शाहले विद्युत् सेवा पुग्नु आफ्नो र नरैनापुरवासीका लागि खुसीको कुरा भएको उल्लेख गरे । अब सिँचाइका लागि विद्युत् विस्तार गर्न जरुरी भएको उनको भनाइ थियो । प्रदेशसभा सदस्य केसीले नरैनापुरको अन्य गाउँमा छ महिनाभित्रै बत्ती बाल्ने प्रतिबद्धता गर्दै अबको विकास नरैनापुरबाट सुरु हुने बताए ।
उनले नरैनापुर सर्वोपरि विकासका लागि आवश्यक सम्भावनाको खोजीगरी आर्थिक उपार्जनको बाटोमा डो¥याउन आफू प्रतिबद्ध रहेको जिकिर गर्दै कृषिलाई आर्थिक विकासमा जोडेर स्थानीय उत्पादनको सहज बजारीकरणका लागि पहल गर्ने उल्लेख गरे । विद्युत् प्राधिकरणका प्रमुख गौतमले नरैनापुरमा ६० प्रतिशत विद्युत् विस्तार भइसकेकाले बाँकी काम छिटो सम्पन्न हुने जानकारी दिए ।