१४ पुस, काठमाडाैँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डल लक भएको छ। ब्लु टिक ब्याजसहितको ‘पीएमओ नेपाल’ (PMO Nepal) नामको अकाउन्टमा अहिले लकको संकेत देखिएको छ।
प्रधानमन्त्रीको आधिकारिक ट्वीटरमा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रोफाइल र कभर फोटो भने राखिइसकेको छ। अब ट्विटर अनलक नभएसम्म उक्त अकाउन्टबाट नयाँ ट्वीट, रिट्वीट वा कमेन्ट गर्न मिल्दैन।
ट्विटर अकाउन्ट लक वा निश्चित सुविधाहरूमात्र दिइएको अवस्थामा उक्त अकाउन्टबाट ट्विटर नियम वा सेवा सर्तहरूको उल्लङ्घनका कारण हुन सक्ने ट्विटरले उल्लेख गरेको छ।
तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक ट्वीटर किन लक गरियो भन्ने जानकारी दिइएको छैन।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयको ट्विटरमा पहुँच नपाएको बताइएको थियो। सोही कारण स्वामित्व परिवर्तनका लागि पनि अकाउन्ट लक गरिएको हुनसक्ने अनुमान गरिएको छ।