१३ पुस, एजेन्सी। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चर्चित सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा फर्किने भएका छन्। मेटाले बिहीबार करीब २ वर्षको प्रतिबन्धपछि ट्रम्प फेसबुक र इन्स्टाग्राममा फर्किने घोषणा गरेको हो।
सोसल मिडिया जायन्टले ट्रम्पमाथिको प्रतिबन्ध केही हप्तामा फुकुवा हुने बताएता पनि निश्चित मिति भने तोकेको छैन।
तत्कालिन राष्ट्रपति ट्रम्पले क्यापिटोलमा दंगा निम्त्याएपछि २०२१ मा फेसबुक र इन्स्टाग्रामको प्रतिबन्धमा परेका थिए। ट्विटरमा समेत प्रतिबन्धमा परेका उनी अब त्यहाँ पनि फर्किने भइसकेका छन्।
मेटाले गरेको अध्ययनबाट अहिले ट्रम्पको अकाउन्टबाट कुनै प्रकारको खतरा नरहेको पाइएको बताउँदै प्रतिबन्ध हटाउने घोषणा गरेको हो।
तर, ट्रम्पको सोसल मिडिया अकाउन्ट भने निरन्तर निगरानीमा राखिने बताइएको छ।
२०२४ को राष्ट्रपतिको निर्वाचनमा उम्मेद्वारी दिने तयारी गरेका ट्रम्पमाथिको प्रतिबन्ध हटाउन रिपब्लिकन पार्टीका समर्थकहरूले दबाब दिएका थिए।
२०२१ मा प्रतिबन्धमा परेपछि ट्रम्पले ‘ट्रुथ सोसल’ नाम सामाजिक सञ्जाल सञ्चालनमा ल्याएका थिए। अहिले उक्त सञ्जालका ५० लाख प्रयोगकर्ताहरू भएको बिबिसीमा उल्लेख छ।