© 2021-2024
माघ, काठमाडाैँ। इन्टरनेट अहिले मानिसहरूको जीवनको अत्यावश्यक पक्षमध्ये एक भइसकेको छ। शहरका करीब हरेक कोठामा बस्ने मानिसहरू भिन्नभिन्न इन्टरनेट प्रयोग गरिरहेका हुन सक्छन्।
पछिल्लो समय सस्तिँदै गएको इन्टरनेटको शुल्क, सुरक्षा र गतिका कारण पनि मानिसहरू छुट्टै इन्टरनेट प्रयोग गर्न रूचाउँछन्। मानिसहरूको आश्यकता पुरा गर्न दर्जनाैँ इन्टरनेट सेवा प्रदायक संस्थाहरू लागि परिरहेका नै छन्।
नेपालका प्रमुख शहरमा बसोबास गर्ने मानिसहरू देशका हरेक ठाउँबाट बसाइँसराइ गरेर गएका छन्। अधिकांशको आफ्नै घर नभएको अवस्थामा विभिन्न कारणले कोठा सरिरहनुपर्ने बाध्यता छ। यस्तो अवस्थामा पहिलो प्रश्न सबैको मनमा उत्पन्न हुनसक्छ, इन्टरनेट कसरी लग्ने ? पुरानै इन्टरनेट चल्छ कि चल्दैन ? र इन्टरनेट सारेको कति शुल्क लाग्छ ?
विभिन्न इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेट सारेको (सिफ्टिङ)को शुल्क निर्धारण गरेका छन्। उनीहरूको संस्थागत नीतिका अनुसार इन्टरनेट सारेको कति शुल्क लिने भन्ने तय भएको छ।
नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमा वर्ल्ड लिंक, भायनेट, सिजीनेट र क्लासिकटेक शीर्ष स्थानमा पर्छन्। यी सबै इन्टरनेट सेवा प्रदायकहरूले सिफ्टिङको शुल्क छुट्टाछुट्टै तय गरेका छन्। माथि उल्लिखितमध्ये सबैभन्दा महँगो भने सिजीनेटको रहेको छ। सस्तो र विश्वासिलो इन्टरनेट सेवा प्रदान गर्ने मुख्य उद्देश्य लिएको कम्पनीले नै ग्राहक सेवामा भने सबैभन्दा महँगो शुल्क लिने गरेको देखिएको छ।
कसले कति लिन्छन् इन्टरनेट सिफ्टिङ शुल्क ?
सिजीनेटः
यहाँ उल्लेखितमध्ये सबैभन्दा धेरै शुल्क लिने इन्टरनेट सेवा प्रदायक कम्पनी सिजीनेट हो। सिजीनेटले इन्टरनेट सिफ्टिङ गरे बापत ग्राहकरूबाट १३ सय ५६ रूपैयाँ लिने गरेको छ। यो कम्पनीले एउटै घरको अर्को कोठामा इन्टरनेट सारेको पनि १३ सय ५६ रूपैयाँ नै लिने गरेको छ।
वर्ल्डलिंकः
ग्राहक संख्या र सेवाको गुणस्तरको हिसाबले वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो। यसको सेवाबाट अधिकांश ग्राहकहरू पनि सन्तुष्ट नै देखिएका छन्। वर्ल्डलिंकले भने इन्टरनेट सिफ्टिङ गरेको ११ सय ५० रूपैयाँ लिने गरेको छ। तर, एउटै घरमा इन्टरनेट सारेको खण्डमा भने वर्ल्डलिंकले कुनै शुल्न लिने गरेको छैन।
भायनेटः
पछिल्लो समय भायनेटका ग्राहकहरूको संख्या पनि बढिरहेको छ। केही समयअघि ग्राहक सेवा राम्रो नभएको भन्दै यस कम्पनीको आलोचना हुने गरेता पनि अहिले भने यो समस्या सुधार भएको छ। इन्टरनेट सिफ्टिङ शुल्कको कुरा गर्नुपर्दा भायनेटले पुरानै घरमा इन्टरनेट सार्नुपर्दा ४०० र अर्को ठाउँमा इन्टरनेट सार्दा ८०० शुल्क लिने गरेको छ।
क्लासिकटेकः
पछिल्लो समय विभिन्न प्याकेज ल्याएर ग्राहक आकर्षित गरिरहेको क्लासिकटेकका ग्राहकहरू पनि बढिरहेका छन्। केही समय अघिसम्म ग्राहक सेवाको गुणस्तर नराम्रो भएता पनि अहिले क्लासिकटेकले उक्त पक्ष सुधार गरेको छ। इन्टरनेट सिफ्टिङ शुल्कको कुरा गर्नुपर्दा क्लासिकटेकले फाइबर केबल प्रयोग भएको हिसाब गरेर शुल्क लिने गरेको छ।
क्लासिकटेकले इन्टरनेट सार्नु पर्ने अवस्थामा नयाँ फाइबर केबल प्रयोग गर्नु नपर्दा भ्याट बाहेक ५०० रूपैयाँ शुल्क लिने गरेको छ। त्यस्तै, नयाँ फाइबर केबल प्रयोग गर्नु पर्दा भने भ्याट बाहेक ५०० रूपैयाँ र फाइबरको प्रति मिटर ८ रूपैयाँ लिने गरेको छ। त्यसैगरी, CAT6 फाइबर केबलको भने प्रतिमिटर ३० रूपैयाँ शुल्क लाग्ने यसको वेबसाइटमा उल्लेख छ।