१८ माघ, काठमाडाैँ। अब प्रतिदिन एउटा डिजिटल वालेटबाट अर्को वालेटमा ५० हजार रूपैयाँसम्म पठाउन सकिने भएको छ। नेपाल राष्ट्र बैंकले यसभन्दा अघि २५ हजारसम्म पठाउन पाउने व्यवस्था परिमार्जन गरि दोब्बर बनाएको हो।
यद्यपि प्रतिमहिना गर्न सकिने कारोबारको सीमा भने थयावत राखिएको छ ।
राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा पनि बढाएको छ । मोबाइल बैंकिङ (क्युआर कोड समेत) बाट यसअघि प्रतिदिन रू दुई लाखसम्म कारोबार गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन रू तीन लाखसम्म कारोबार गर्न सकिने बनाइएको छ ।
राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ । यसअघि बैंक खाताबाट वालेटमा प्रतिदिन रू ५० हजारसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन रू दुई लाखसम्म रकम पठाउन सकिने व्यवस्था ल्याइएको छ ।
सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस)मा आवद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत् सञ्चालन गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा लाग्ने शुल्कसम्बन्धी व्यवस्था पनि संशोधन भएको छ ।
यसअघि रू तीन हजारसम्मको कारोबारमा रू पाँच शुल्क लाग्ने गरेकामा अब सोही शुल्कमा रू पाँचहजार सम्मको कारोबार गर्न सकिनेछ । त्यस्तै रू पाँच हजार एकदेखि रू १० हजारसम्मको कारोबारमा रू आठ शुल्क लाग्नेछ । यसअघि रू तीन हजार एकदेखि रू १० हजारसम्मको कारोबारमा रू आठ शुल्क लाग्ने गरेको थियो । रू १० हजार एकभन्दा माथिको सबै कारोबारमा रू २० शुल्क लाग्ने गरेकोमा त्यस्तो शुल्क घटाएर रू १० बनाइएको छ ।