२१ माघ, काठमाडाैँ। नेपाल वायुसेवा निगमले नेपालगञ्जदेखि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा उडान भर्ने जहाजका अनलाइन टिकट बिक्री सुरु गरेको छ।
निगमले बिहीबार ई–टिकट प्रणाली सुरु गरेको हो। नेपालगञ्जबाट हवाई यातायात जोडिएका जिल्लाहरु हुम्ला, मुगु, डोल्पा, जुम्ला, रुकुमपश्चिम र बाजुरामा ई–टिकट सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख किरण श्रेष्ठले जानकारी दिए। हिजोदेखि अनलाइन टिकट सेवा सुरु गरिएको र जिल्लाबाट फर्किदा पनि यो सेवा पहिलो पटक कार्यान्वयनमा आएको उनले बताए।
नेकपा माओवादी केन्द्र जुम्लाबाट निर्वाचित सांसद छिरिङल्यामु लामा (तामाङ) ले कर्णाली र सुदूरपश्चिमका दुर्गममा जिल्लामा शक्ति र पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा सर्वसाधारणले सास्ती पाएको भन्दै यही माघ ९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई मागपत्र बुझाएका थिए।
४२ सिटे जहाज सञ्चालनमा ल्याउने गरी जुम्ला विमानस्थल स्तरवृद्धिको लागि लिखित पत्र दिइएको बताए।
‘स्थल यातायातलाई पनि सहज र सुरक्षित बनाउन कर्णाली राजमार्गको समस्याका विषयमा मन्त्री नारायाणकाजी श्रेष्ठलाई समेत भेटेर माग राखिएको छ’, सांसद लामाले भने, ‘हेरौँ यसबाट नियमित स्थल र हवाइ यातायात हुनुका साथै नागरिक सेवामा केही सहजता आउला।’
पर्यटन मन्त्री किरातीले टिकटमा नागरिकले भोग्नु परेको सास्ती अन्त्य गर्न तत्काल ई–टिकट लागू गरिएको बताए। मन्त्री किरातीले यो कामका लागि सांसद लामाको पहलले सार्थकता पाउने बताए।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले ई–टिकट लागू हुँदा अब सधँै एयरपोर्ट धाउनुपर्ने अवस्था अन्त्य भएको र यसले नागरिकलाई सजिलो हुने बताए। निगम जुम्लाका प्रतिनिधि डम्बर खत्रीले जुम्लामा अनलाइन टिकट कार्यान्वयन भएको जानकारी दिए।